खोटाङको हलेसीमा सम्पन्न आँखा शिविरमा ६२ जनाको मोतियाबिन्दु अप्रेसन

२0७९ कार्तिक २३ बुधबार
खोटाङको हलेसीमा सम्पन्न आँखा शिविरमा ६२ जनाको मोतियाबिन्दु अप्रेसन

उदयपुर, कात्तिक २२

आँखाका बिरामीहरुलाई लक्षित गरी खोटाङको हलेसीमा सञ्चालित ‘निशूल्क आँखा जाँच शिविर’ मा ५ दर्जन बढीले मोतियाबिन्दुको उपचार पाएका छन् । तुवाचुङ नगरपालिका ७ मा आयोजित शिविरमा जँचाएका ७ सय ६५ मध्ये मोतियाबिन्दु देखिएका एक बालकसहित ६२ को शल्यक्रिया (अप्रेसन) मार्फत ज्योति फर्काइएको हो । 


गएको शनिबारदेखि सोमबारसम्म सञ्चालित ३ दिने शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । 


नगरप्रमुख बिमला राईले उद्घाटन गरेको शिविरमा खोटाङसँगै छिमेकी जिल्लाहरु, उदयपुृर, ओखलढुंगा र सोलुखुम्बुसम्मका बिरामीले सेवा पाएको आयोजकले जनाएको छ । मेयर राईका अनुसार कोभिड महामारीअघि नगरले गरेको ‘घरदैलो अभियान’, गत असोजमा सम्पन्न विश्व दृष्टि दिवसको अवसरमा हलेसी तुवाचुङ ३ च्यास्मीटारको ‘आँखा उपचार शिविर’, केही समयअघि हलेसीमा आयोजित ‘ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिर’ र अहिलेको शिविर गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरेको थियो । 


शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट आएको १४ जना प्राविधिक टोली परिचालित गरिएको मेयर राईले बताईन् । मोतियाबिन्दु बाहेक आँखामा मासु पलाएको, डल्लो परेको, परेला गाडिएका बिरामीको पनि अप्रेसन गरी आवश्यक औषधि निःशूल्क वितरण गर्नुका साथै सुपथ मूल्यमा चस्मा पनि बिक्री गरिएको छ । 


मेयर राईका अनुसार आँखाका बिरामी नगरबासीको स्वास्थ्य उपचारका लागि बिभिन्न अवसरमा आँखा जाँच र शिविर राखेर मोतियाबिन्दुजस्ता आँखाका रोगीलाई  निःशूल्क उपचार गरिएको हो । खासगरी बृद्धबृद्धाले शिविरमा अप्रेसनपछि निशूल्क औषधि पाउनुका साथै ज्योति फर्केपछि खुसी भएर घर फर्केको देख्न पाउँदा आनन्द लागेको मेयर राईले बताईन् । 


निःशूल्क आँखा जाँच शिविरले गुमेको ज्योति फर्काउन सक्ने भएकाले बेलाबेला यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको आयोजकमध्येको एक आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । लठ्ठी टेकेर शिविर आएका जेष्ठ नागरिक बृद्धबृद्धाहरु आँखा देख्ने भएर फर्कदा मेयर, उपमेयरलगायत जनप्रतिनिधि आयोजकलाई आशिर्वाद दिएका थिए ।