उदयपुरका ९ मतदानस्थल सारियो (सूचिसहित), सोरुङ कायमै

२0७९ कार्तिक १९ शनिबार
उदयपुरका ९ मतदानस्थल सारियो (सूचिसहित), सोरुङ कायमै

उदयपुर, कात्तिक १९

आउँदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ९ वटा मतदानस्थल हेरफेर गरिएको छ । सुरक्षा संवेदनसिलता र मतदातालाई पायक पर्ने गरी मतदानस्थलहरु परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । 


हेरफेर गरिएका मतदानस्थलहरु त्रियुगा नगरपालिकाका र चौदण्डीगढी नगरपालिकाका २–२ वटा रहेका छन् भने उदयपुरगढी गाउँपालिकाका ३ तथा रौतामाई गाउँपालिकाका २ वटा छन् । त्रियुगा ३ स्थित रामजानकी मावि मोतिगडा मतदानस्थल ३ नं. कै त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा सारिएको छ । त्यस्तै १३ नं. वहेडवा सामुदायिक वन उपभोक्ता समूह भवनको मतदानस्थल सारेर वहेडवाकै आधारभूत विद्यालयमा कायम गरिएको छ । 


त्यसैगरी चौदण्डीगढी ९ को राजाजी आधारभूत विद्यालय मतदानस्थल मावि हडियामा कायम गरिएको छ भने १० नं. वडा कार्यालयमा रहेको मतदानस्थललाई सारेर खैराहा झोडास्थित लौवागढी मावि कायम गरिएको छ । उता उदयपुरगढी २ स्थित नमूनादेवी आधारभूत विद्यालय माङसिन्टारको मतदानस्थल सारेर २ नं. वडा भवन कायम गरिएको छ । ६ नं. को नेपालटारस्थित मावि जगरेटारको मतदानस्थललाई सोलीढुंगास्थित आधारभूत विद्यालय कोपिलेघरमा सारिएको छ ।  ७ नं. वडाको मावि हाडेबास मतदानस्थललाई आधारभूत विद्यालय नाङ्राङ्गेमा कामय गरिएको छ । 


यता रौतामाई ३ स्थित जनता मावि लाफागाउँ मतदानस्थललाई सारेर वडा कार्यालय भवन पाकाना कायम गरिएको छ । रौतामाईकै ८ नं. वडास्थित आधारभूत विद्यालय एमुटारको मतदानस्थल ८ नं. वडा कार्यालय भवनमा सारिएको निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । 


कुन कुन मतदानस्थल परिवर्तन भए ?

 

 

वैशाख ३० गते गोली चलेको सोरुङ मतदानस्थल कायमै

उदयपुरमा संवेदनसिल मानिएका केही मतदानस्थलहरु भने यथावत राखिएको छ । गत वैशाख ३० को स्थानीयतह निर्वाचनमा गोली चलेर एक युवाको ज्यान गएको कटारी नगरपालिका १० सोरुङछविसेस्थित मावि सोरुङको मतदानस्थल यथावत राखिएको छ । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभावक्षेत्र मानिएको सो ठाउँलगयात अन्य दुई÷तीनवटा मतदानस्थलहरु पनि संवेदनसिल रहेको स्थानीयको भनाई छ । 

 

वैशाख ३० को चुनावमा सोरुङछविसे मतदानस्थलमा सुरक्षाकर्मीको गोली लाग्दा स्थानीय १८ वर्षीय वीरबहादुर कटुवालको घट्नास्थलमै ज्यान गएको थियो भने एक १३ वर्षे बालक घाईते भएका थिए । घट्नापछि अवरुद्ध भएको मतगणना कार्य ६ बुँदे सहमतिले ३ दिनपछि मात्र सुचारु भएको थियो । तर, सरकारले अहिलेसम्म उक्त सहमति कार्यान्वयन नभएको भन्दै मंसिर ४ को चुनाव बहिस्कार गर्ने चेतावनी स्थानीयले दिएका छन् । 


गत १७ गते बसेको वडाडाध्यक्ष, सदस्य तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसमेतको सर्वपक्षीय बैठकले वैशाख ३० को घट्नामा भएको सहमति राज्यले कार्यान्वयन नगरेकाले आगामी चुनाव बहिस्कार गर्ने निर्णय गरेको जनाइएको छ । घट्नापछि भएको पटकपटकको छलफलमा मृतकलाई सहीद घोषणा गर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने तथा गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायत ६ बुँदे सहमति भएकोमा अहिलेसम्म ार्यान्वयन नभएकाले चुनाव बहिस्कार गर्ने निर्णय बैठकले गरेको वडाध्यक्ष क्षेत्रबहाुदर खड्काले बताए । 


प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने स्थानीयको सो माग पुरा गर्नेतर्फ राज्यको ध्यान केन्द्रित भएको बताएका छन् । मृतक परिवारलाई १० लाख रुपैंया राहत दिन गृह मन्त्रालयले आदेश दिएको बताउँदै सिडिओ गौतमले केहीदिनभित्रै बोलाएर राहत दिने र शान्तिपूर्ण चुनाव सम्पन्न गराउने बताए । 


प्रतिनिधिसभातर्फ दुई निर्वाचनक्षेत्र रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेका छन् । जसमा १ न. मा १ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् भने २ नं. मा ९३ हजार ४ सय २१ जना रहेका छन् । जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार उदयपुरमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ । १ मा ५१ मतदानस्थल र १ सय ५३ मतदान केन्द्र तथा २ मा ५० मतदानस्थल र १ सय ११ मतदान केन्द्र रहेका छन् ।