समानुपातिकतर्फको मतपत्र मतदान केन्द्र पठाउन तयार

२0७९ कार्तिक १७ बिहीबार
समानुपातिकतर्फको मतपत्र मतदान केन्द्र पठाउन तयार

कटारी, कात्तिक १७

आउँदो मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ नं. निर्वाच अधिकृतको कार्यालय कटारीले समानुपातिकतर्फको मतपत्र मतदान केन्द्र पठाउने तयार पारेको छ । प्रत्यक्षतर्फको मतपत्र नआईपुगे पनि समानुपातिकतर्फको मतपत्र बेलैमा आएकाले मतदान केन्द्र पठाउने तयारी पुरा भएको हो । 


सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले समानुपातिकतर्फको मतपत्र बेलैमा निर्वाचन आयोगले पठाएकाले गणना गरेर, मिलाएर, रुजु गरेर मतदान केन्द्र पठाउन तयार गरिएको बताए । उनका अनुसार मतपत्रहरु आवश्यक्ताभन्दा ५ प्रतिशत बढी संख्यामा पठाउन लागिएको छ । 


बीचमा बिग्रने, च्यातिने वा नाशिने संभावना भएकाले मतदाता संख्याभन्दा ५ प्रतिशत बढी मतपत्र पठाउने गरी मिलाएर राखिएको भट्टराईले बताए । त्यसो गर्दा कुनै पनि मतदाताले मतदान गर्नबाट वञ्चिुत हुनु नपर्ने निर्वाचन अधिकृतको कार्यालयको ठहर छ । 


जस अनुसार प्रतिनिधिसभातर्फ १ लाख ३ हजार मतपत्र तयार गरिएको छ भने प्रदेशसभातर्फ १ लाख ५ हजार मतपत्र मतदान केन्द्र पठाउन लागिएको छ ।  प्रत्यक्षतर्फको मतपत्र भने अहिले आईसकेको छैन । केहीदिनभित्र त्यो पनि आईपुग्ने खवर निर्वाचन आयोगबाट आएको जानकारी भट्टराईले दिए । 


‘प्रत्यक्षतर्फको मतपत्र आईपुगेको छैन, केहीदिनभित्रै आईपुग्ने आयोगले जानकारी दिएको छ’ भट्टराईले भने ‘समानुपातिकतर्फको चाहि बेलैमा आएकाले मिलाएर, रुजु गरेर पोका बाँधेर सम्बन्धित मतदान केन्द्र पठाउने तयार पारेर राखेका छौँ ।’

 

यसैबीच कटारीमा पनि बिहीबार ‘नमूना मतदान’ कार्य सम्पन्न भएको छ । कटारी नगरपालिका परिसरमा आयोजित नमूना मतदान केन्द्रमा मतदानको अभ्यास गराइएको हो । नमूना मतदानमा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख मीना खड्का, वडाध्यक्षहरु, जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाल, इप्रका कटारीका डिएसपी प्रबिण कार्की, अन्य सुरक्षाकर्मी, कर्मचारी र नागरिक अगुवालगायतको सहभागिता थियो । जिल्ला निर्वाचन कार्यालय उदयपुरले ८ वटै स्थानीयतहमा नमूना मतदान गराउने योजना अन्तर्गत कटारीमा आज अभ्यास गराएको हो । यसअघि सदरमुकाम, बेलका र चौदण्डीगढीमा पनि नमूना मतदान कार्य सम्पन्न भईसकेको छ ।