भीरबाट लडेर महिलाको मृत्यु

२0७९ कार्तिक ८ मंगलवार
भीरबाट लडेर महिलाको मृत्यु

उदयपुर, कात्तिक ८

घाँस काट्न गएकी एक महिलाको सोमबार भीरबाट लडेर निधन भएको छ । पहाडी गाउँपालिका लिमचुङबु्ङ १ बाँसबोटेकी ३४ वर्षीया खड्ककुमारी राउतको स्थानीय सर्थङ्गे पाखाको भीरबाट लडेर निधन भएको हो । 


स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार तिलबहादुर राउतकी श्रीमति खड्ककुमारी ६ गते घाँस काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी थिईन् । उनलाई बेहोस् अवस्थामा भेटेर उपचारार्थ अस्पताल लादालाँदै साँझ ५ः०० बजे निधन भएको हो । 


विहान घाँस काट्न गएकी खड्ककुमारी दिउसो २ः०० बजेसम्म नफर्केपछि श्रीमान् र परिवारजन उनलाई खोज्न गएका थिए । खोज्दै जाँदा सर्थङ्गे पाखाको भीरबाट लडेर सयमिटर तल अचेत अवस्थामा उनी भेटिएकी थिईन् । 


टाउकोमा गहिरो चोट लागेर बेहोस अवस्थामा भेटिएकी उनलाई उद्धार गरी उपचारार्थ स्वास्थ्य संस्थातर्फ ल्याउँने क्रममा बाटैमा निधन भएको इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहालाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।


घट्नाबारे जानकारी पाएलगत्तै खटेको इप्रका बाराहाको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी सोमबार विहान पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाएको थियो । अस्पतालले पोष्टमार्टम गरी शव मंगलबार आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारले बताएका छन् । डिएसपी पोदारका अनुसार घट्नाबारे थप अनुसन्धान भईरहेको छ ।

 

यस्तो अप्रिय घट्नाले वर्षदिनको चाड तिहार पर्वमा राउत परिवार र आफन्तजनसँगै पुरै गाउँलेलाई खल्लो बनाएको वडाध्यक्ष जनदिप थापामगरले बताए ।