जलजलेको पोखरीमा डुबेर महिलाको निधन

२0७९ कार्तिक २ बुधबार
जलजलेको पोखरीमा डुबेर महिलाको निधन

उदयपुर, कात्तिक २

त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिसरमा रहेको पोखरीमा डुबेर मंगलबार अर्की महिलाको निधन भएको छ । मंगलबार साँझ गाईबस्तु चराउन आएकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको डुबेर निधन भएको हो । 


गाईबस्तु चराएर फर्काउने बेला हात खुट्टा धुन पसेकी उनको डुबेर निधन भएको इलाका प्रहरी कार्यालय  जलजलेलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ पोखरीमा डुबेर मृत अवस्थामा अन्य गोठालाहरुले फेला पारेर प्रहरीलाई खवर गरेका थिए । 


खवर पाएलगत्तै गएको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयको   टोलीले उद्धार गरी उपचार गर्न लान खोज्दा उनको मृत्यु भएको जनाइएको छ । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव उदयपुर अस्पतालमा पोष्टमार्टम गरी बुधबार अन्त्यष्किा लागि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए । 


स्थानीयका अनुसार सो पोखरीमा ६ महिनाअघि पनि एक महिलाको डुबेर निधन भएको थियो । आफन्तका अनुसार जलजलेकै ५२ वर्षीया नशीमाया परियारको गत फागुनमा सोही पोखरीमा डुबेर ज्यान गएको थियो । अहिले मृत्यु हुने दैया र नशीमाया नातेदार नै भएको स्थानीयको भनाई छ । 


वर्षेनी सो पोखरीमा १÷२ जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् । प्रहरीले पनि सो पोखरीमा यसअघि पनि पटकपटक मान्छे डुबेर मर्ने गरेको जनाएको छ । चुरे जंगलसँग जोडिएको खाली जमिनक्षेत्र भएको र गाईघाट–लाहान सडकसँग जोडिएको सो पोखरीमा त्यसभेगका स्थानीयहरु गाईबस्तु चराउन तथा घाँस दाउरा गर्न आउने गरेका छन् । 


त्यसैगरी रमणीय र खुल्ला ठाउँ भएकाले युवायुवति तथा बालबालिकाहरु नुहाउन, लुगा धुन, पौडी खेल्न र रमाउन आउने गरेका छन् । उनीहरु नै पोखरीमा पटकपटक डुबेर ज्यान गुमाउने गरेको स्थानीयहरु बताउँछन् । 


वर्षेनी यस्तो दुःखद घट्ना हुने सो पोखरीलाई संरक्षण र सुरक्षित गर्नुपर्ने आवश्यक्ता खट्किएको छ । वरिपरि घेराबार गर्ने तथा हात खुट्टा धुन र नुहाउने, लुगा धुने सुरक्षित ठाउँ बनाउन सके घट्ना हुनबाट रोक्न सकिन्छ । पोखरीमा अप्रिय घट्ना हुनबाट बचाउन उद्योग व्यवस्थापन, प्रहरी, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला निकाय तथा व्यक्तिहरुले पहल थाल्न जरुरी छ ।