प्रहरी दिवसमा देशभर रक्तदान

२0७९ आश्विन २७ बिहीबार
प्रहरी दिवसमा देशभर रक्तदान

उदयपुर, असोज २७

बिहीबार ‘६७ औं प्रहरी दिवस’को अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार उदयपुर प्रहरी कार्यालयले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रांगणमा विहान ८ः३० बजे आयोजित रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी उदयपुरले गरेको हो । कार्यक्रममा प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाललगायत मातहत प्रहरी कर्मचारी २३ जना र सशस्त्र प्रहरी बल ५ नं.  हेडक्वाटर उदपुरका ६ जनाले रक्तदान गरेका छन् । 


त्यस्तै कार्यक्रममा १ जना सर्वसाधारणसमेत गरी जम्मा २९ जनाको रगत संकलन भएको रेडक्रस सोसाईटी उदयपुरले जनाएको छ । विहान १०ः५० बजेसम्म चलेको रक्तदान कार्यक्रममा संकलित रगत उदयपुर अस्पतालमा उपयोग गर्ने उदेश्यले रेडक्रस सोसाईटीको चिस्यान केन्द्रमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए । 


त्यसैगरी खोटाङ प्रहरी कार्यालयले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा ५ जना प्रहरी र २ सर्वसाधारणसहित ७ जनाले रगत दान गरेको खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए । 


खोटाङ रेडक्रसको प्राविधिक सहयोगमा संकलित रगत आवश्यक परेका विरामीलाई निःशूल्क दिन रक्त सञ्चार केन्द्र (ब्लड बैंक) दिक्तेलको जिम्मामा सुृरक्षित राखिएको डिएसपी मुकारुङले बताए ।