काँग्रेस क्षेत्रीय सभापति राईको गठबन्धनविरुद्ध उम्मेदवारी

२0७९ आश्विन २३ आईतवार
काँग्रेस क्षेत्रीय सभापति राईको गठबन्धनविरुद्ध उम्मेदवारी

उदयपुर, असोज २३

आउँदो मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुर क्षेत्र न. २ मा गठबन्धन दलकै तर्फबाट बागी उम्मेदवारी परेको छ । सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र) र नेकपा (एस)बीचको गठबन्धनबिरुद्ध काँग्रेसकै क्षेत्रीय सभापति रामकुमार राई बागी उठेका हुन् । 


उदयपुर २ नं. क्षेत्रीय सभापति रहेका राईले आईतबार कटारीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाबिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएले बताएका छन् । 


गठबन्धन दलहरुबीच ०७४ को चुनावमा जुन दलले जितेको हो, त्यसैलाई दिने मापदण्ड बनाएको भए पनि माओबादीले जितेको उदयपुर २ मा एकीकृत समाजबादीका प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडाले टिकट पाएका छन् । राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियासिल सदस्हरु लिलाराज अधिकारी र  नीलकुमार दाहाल रहेका छन् । 


कटारी नगरपालिका ५ का स्थायी बासिन्दा तथा साविक कटारी गाविसका पूर्व अध्यक्षसमेत रहेका राई ०७४ को स्थानीयतह चुनावमा नगरप्रमुखको आकांक्षी थिए । तत्कालीन काँग्रेस जिल्ला कार्यसमिति सचिवसमेत रहेका राईलाई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओबादी प्रवेश गरेका थिए । 


तर, २ वर्ष नबित्दै पार्टीले काँग्रेसमै फर्काएर उनलाई पूर्ववत जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियासिल रहेका उनले ०७९ को स्थानीयतह चुनावमा पनि मेयरकै दावेदारी गरेका थिए । तर, यसपटक पनि उनलाई मेयरको टिकट नदिएपछि आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको टिकटको आकांक्षा पालेका थिए । 


त्यस्मा पनि पार्टी ‘हार्डलाईनर’ बनेपछि बाध्य भएर बिद्रोही बन्नु परेको राई निकट कार्यकर्ताहरु बताउाछन् । 


उदयपुरमा आईतबार विहान १०ः०० बजेदेखि नै प्रदेश तथा प्रतिनिधिसभा दुवैतर्फको उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको छ । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउसो २ः०० बजेसम्म प्रतिनिसिभातर्फ ३ र प्रदेशतर्फ ५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै कटारीस्थित २ नं. निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशतर्फ छ जनाको उम्मेदवारी परेको छ । 


प्रतिनिधिसभातर्फ ३ स्वतन्त्रसहित र प्रदेशतर्फ ५ जनाको उम्मेदवारी मनोनयन भईसकेको सहायक निर्वाचन आधिकृत देवराज भट्टराईले बताएका छन् ।