बसाहामा गोल्डकप सुरु:  मोरङद्वारा गोर्खा ब्वाईज २–० ले पराजित 

२0७९ आश्विन ९ आईतवार
बसाहामा गोल्डकप सुरु:  मोरङद्वारा गोर्खा ब्वाईज २–० ले पराजित 

उदयपुर, असोज ९

उदयपुरको फुटबल खेलमा सबभन्दा पहिलेदेखि सुरु भएको ‘नारदमुनि राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७९’ चौदण्डीगढी नगरपालिका ४ बसाहामा आईतबारदेखि सुरु भएको छ । स्थानीय बसाहा क्लवको आयोजनामा वर्षेनी आयोजना गर्दै आएको गोल्डकपको आठौं संस्करण सुरु भएको हो । 


स्थानीय बसाहा क्लबको आयोजनामा बसाहास्थित बर्खेडाँडा खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लव रुपन्देहीलाई २–० गोलको अन्तरले पछि पार्दै मोरङको चारतारे क्लब विजयी भएको छ । उद्घाटन खेलमा चारतारेका खेलाडी भुवन बस्नेत एक्लैले दुई गोल गरेर मोरङलाई विजयी यात्रामा सामेल गराएका हुन् । 


बस्नेतले खेल सुरु भएको ंं२३ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए । खेलको अन्तिममा थपिएको २ मिनटको इन्जुरी टाईमको सदुपयोग गर्दै बस्नेतले गरेको अर्को गोल विपक्षी टिमका लागि पल्लाभारी सावित भयो । प्रतिस्पर्धी समूह गोर्खा ब्वाईजले सुरुदेखि अन्तिमसम्मको खेलमा गोल गर्न असफल भएपछि प्रतियोगिताबाट बाहिरिनु परेको छ । 


खेलको ‘म्यान अफ दि म्याच’को उपाधि पनि बस्नेतले नै पाएर नगद ५ हजार तथा मेडलको हकदार हुन पुगे । उनलाई आयोजक क्बलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । 


चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले उद्घाटन गरेको प्रतियोगितामा १ विदेशी टोलीसहित ८ वटा खेल समूहले भाग लिएका छन् । आयोजक बसाहा क्लबका खेल संयोजक भुपेन्द्र राईले सोमबारको खेलमा गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर जिल्ला फुटवल संघबीच प्रतिस्पर्धा हुने बताए । 


नारदमुनि स्मृति गोल्डकप प्रतियोगिताको इतिहासमा पहिलो पटक विदेशी टिमको सहभागिता भएको हो । विदेशी टिममा मित्र राष्ट्र क्यामरुनको एभिनीयर फुटबल क्बलले भाग लिएको हो । प्रतियोगितामा मोरङ र गोर्खा व्वाइजबाहेक बिभिन्न ए डिभिजनका खेल समूहहरु चर्ज व्वाइर्ज काठमाडाँै, गोर्खा स्पोर्टस् क्लव झापा, भोजपुर फुटबल ब्लब, डिटिसी सुनसरी र घरेलु टिम बसाहा सहभागी छन् । 


प्रथम पुरस्कार नगद ४ लाखसहित ट्रफि र प्रमाणपत्रको उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका उपविजेतालाई २ लाख नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ । त्यसैगरी प्रतियोगितामा बिधागत विजेता खेलाडीलाई पनि पुरस्कार, सिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । 


त्यसैगरी सदा झैँ प्रतियोगिता अवधिभर उत्कृष्ट तथा उदीयमान खेलाडी पनि घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 


बसाहा क्लबले गत ०६८ सालदेखि गोल्डकप आयोजना गर्दै आएको छ । हरेक वर्ष दसैं तिहारको अवसर पारेर प्रतियोगिता गर्दै आएको क्लबले कोविड कहरका कारण रोकिएकाले ०७५ यता भने यो पहिलो पटक आयोजना गरिएको हो । अव निरन्तर हरेक वर्ष प्रतियोगिता आयोजना हुने क्बलका निवर्तमान अध्यक्ष शेखर राईले बताए । 


आयोजक क्लबका अनुसार प्रतियोगितामा ३२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले १० लाख, ४ नं. वडा बसाहाले २ लाख र बेल्टारस्थित गोर्खा फाईनान्सले ३ लाख रुपैँया सहयोग गरेको आयोजकले जनाएको छ । 


बाँकी अपुग रकम प्रयोजक र क्लब आफैले जोहो गरेको खेल संयोजक राईले बताएका छन् । प्रतियोगिताका लागि वडा कार्यालयबाटै खेल मैदान सरसफाई र घेरावेरा गर्न ६ लाख रुपैया बिनियोजन गरिदिएको चौदण्डीगढी ४ का वडाध्यक्ष लुङ्गराज राईले बताएका छन् । 


प्रत्येक वर्ष दसैं र तिहारको बीचमा आयोजना हुँदै आएको प्रतियोगिता विश्वव्यापी कोविड कहरका कारण ०७५ चैत ११ गतेदेखि सुरु लडकडाउनयता यही वर्षदेखि निरन्तरता दिन लागिएको हो । 

क्याप्सनः खेलमा प्रतिस्पर्धा गर्दै मोरङ र गोर्खा व्वाईजका खेलाडी । तस्विरः महेश्वर    ्