बाबुरामसँग मिलेर समाजवादसम्म पुग्ने प्रचण्डको लक्ष्य

२0७९ आश्विन ८ शनिबार
बाबुरामसँग मिलेर समाजवादसम्म पुग्ने प्रचण्डको लक्ष्य

काठमाडौं, असोज ८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजित भएका कारण नेपाल र नेपाली जनतालाई धोका भएको बताएका छन् । 


१० वर्षे जनयुद्धका नायक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीसमेत भईसकेका प्रचण्डले अब समाजवादसम्म पुग्नका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताए । काठमाडौंमा शनिबार आयोजित दसैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफु मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको स्मरण गरे । 


अब समाजवादसम्म पुग्नका लागि पनि आफुहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताउदै प्रचण्डले भने ‘त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफु फेरि मिलेर लड्नेछौं, जसले नेपाललाई समाजबादसम्म पुर्याउँनेछ ।’


बाबुराम र आफुले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेर पुनः मिलेर जाने निश्कर्षमा पुगेको उनले बताए । जस अनुसार १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गरेर अहिले देशमा संघीय गणतन्त्र ल्याएको छ । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता महसुस गराईरहेको प्रचण्डको भनाई थियो । 


माओवादी विभाजनको तितो प्रयोग नेपाली समाजले गरेको र त्यसले परिणाम सही ल्याउन नसकेको निश्कर्षमा बाबुराम र आफु दुवैजना पुगेको उनको भनाई थियो । यो प्रयोगले आफुहरुको उद्देश्य जतिसुकै राम्रो र ठुलो भए पनि सफल हुन नसक्दा राष्ट्रलाई धोका भएको घटनाक्रमले साबित गरेको उनको बुझाई थियो । 


बाबुराम र आफु अलग–अलग बाटो हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखापरेको भन्दै प्रचण्डले प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालका कसरतहरू गर्ने काम भईरहेको बताए । 


प्रचण्डले यी घटनाहरूको समीक्षा गर्न आवश्यक भएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको स्पष्ट पारे । देशमा परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस भएको पनि उनले बताए । 

 

‘बाबुराम र प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने नभएर यसको महत्त्व ठुलो हुने भन्दै उनले एक अर्काका पु्रक भएकाले परिवर्तनका वाहक पनि भएको बताए । अब आफुहरु दुवै मिलेर समाजवादको नयाँ मोडल दिने योजना सुनाउँदै प्रचण्डले संविधानको घोषणापछि आफू र बाबुरामले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुस्हासिक प्रयोग गरेको तर, असफल भएको बताए । 


प्रचण्डले बाबुराम र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निश्कर्ष फुट होइन एकता नै भएको र एकता-संघर्ष-रुपमान्तरण र मुख्यतः रुपान्तरण नै भएको निश्कर्ष निकालिएको बताए ।