उदयपुर प्रहरीको चाडबाडलक्षित सुरक्षा योजना

२0७९ आश्विन ७ शुक्रबार
उदयपुर प्रहरीको चाडबाडलक्षित सुरक्षा योजना

उदयपुर, असोज ७

जिल्ला प्रहरी कार्यालय उदयपुरले नजिकिएको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । यही असोज दोस्रो साता पर्ने दसैं, तिहार, छठ, नेपाल सम्बत, ल्होसारलगायत विभिन्न सांस्कृतिक महत्वका चाडपर्वलाई लक्षित गरी प्रहरीले ‘एकीकृत सुरक्षा योजना’ सार्वजनिक गरेको हो । 


नजिकिएका चाड पर्वहरुलाई शान्तिपूर्ण र हर्षोल्लासमय वातावरणमा मनाउने जिल्लामा शान्ति सुरक्षाको अवस्था सुढृढ बनाउनुपर्ने खाँचो महसुस गरेर योजना बनाइएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । उनका अनुसार त्यसका लागि जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी युनिटसमेत सबैलाई परिचालन गरिने छ । त्यसका लागि जिल्लाभरी ९ वटा गाडी मोवाईलमा खटाइने छ भने २० वटा मोटरसाईकलबाट गस्ती गर्ने योजना अघि सारिएको छ । 


शान्ति सुरक्षालाई मध्येनजर गरेर मुख्य बजार क्षेत्रहरुमा २४ ठाउँ पिकेट, ग्रामिण इलाकाहरुमा १२ वटा ग्रामिण गस्ती, बिभिन्न ठाउँमा दैनिक १० वटा सरप्राईज चेकिङ (आकस्मिक) चेकजाँच, थप १० ठाउँमा ट्राफिकसहितको संयुक्त चेकजाँच गर्न टोली परिचालित गरिने छ । त्यसैगरी चाडवाडको मौकामा यातायात सेवामा बढी भाडा रकम असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य निरुसाहित गर्न तथा यात्रुलाई आवतजावत गर्न सहज बनाउन जिल्लाका बिभिन्न ७ ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिनेछ । 


सुरक्षा योजना सफल बनाउनका लागि ३ सय ७७ जना प्रहरी परिचालन गरिने एसपी फुयालले बताए । आवश्यकता अनुसार अन्य सुरक्षा निकायका अंगहरुसँगसमेत समन्वय गरी शान्तिपूर्ण र भयरहित तवरमा चाडपर्व मनाउन सक्ने वातावरण सिर्जना गर्ने एकीकृत सुरक्षा योजना लागू गर्न लागिएको उनले बताए । 

 

घोषित सुरक्षा योजना अन्तर्गत केहपय ठाउँमा शुक्रबारै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । खासगरी यात्रु ओसार पसार गर्ने सघन क्षेत्र (यातायात हव) बसपार्क र बस स्टेन्डहरुमा सहायताकक्ष खोल्नुका साथै चेकजाँचको कार्य थालिएको जिल्ला प्रहरी सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए ।