मोरङ बुढीगंगा एमालेमा पहिरो, ४० जना अगुवा माओवादीमा प्रवेश

२0७९ आश्विन ५ बुधबार
मोरङ बुढीगंगा एमालेमा पहिरो, ४० जना अगुवा माओवादीमा प्रवेश

भीमार्जुन जैसी 

विराटनगर, असोज ५ 

आगामी मंसिर ४ गतेको चुनाव नजिकिदै गर्दा नेकपा (एमाले)मा पहिरो जाने क्रम रोकिएको छैन । देशका बिभिन्न जिल्लामा एमाले छाडेर माओबादीमा प्रवेश गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिकाका झण्डै ४ दर्जन एमाले अगुवा नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।


यसअघि एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र सरदार थारु माओवादी केन्द्रमा गईसकेका छन् । सरदारको वहिरगमनसँगै एमाले बुढीगंगाका थप सशक्त नेता कार्यकर्ताले माओबादी रोजेका हुन् । जस अनु्सार गएको स्थानीयतह चुनावमा बुढीगंगा २ बाट वडाध्यक्षमा झिनो मतले पराजित प्रमोद चौधरी र ५ . का वडाध्यक्ष उम्मेदवार सिभिल चौधरीसहित ४० बढी एमाले नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका हुन् । 

 

खुमलटारमा आयोजित एक कार्यक्रममा माओबादी अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई फुलमाला र अविर लगाएर स्वागत गरेका थिए । उनीहरुको साथमा थप २५ जना काँग्रेस र स्वतन्त्र नागरिक पनि माओबादीमा प्रवेश गरेका छन् । सिंगो बुढीगंगा रित्तो बनाउँदै माओबादीमा प्रवेश गर्न पुगेका उनीहरुलाई बुधबार एक कार्यक्रमका बीच प्रचण्ड निवास खुमलटारमा पार्टीले स्वागत गरेको छ । 


पार्टी प्रवेश गर्दै वडाध्यक्ष उम्मेद्वार सिभिल चौधरीले ‘लामो समय एमालेमा रहेर रगत पसीना बगाएका नेता कार्यकर्तालाई एमालेले चिन्न छाडेपछि बाध्य भएर माओबादीमा पस्नुपरेको बताए । निकै पहिले नै राजनीतिक रूपमा स्खलित भईसकेको एमाले सुध्रन्छ कि भनेर पर्खे पनि नसुध्रेको भन्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै संघीयता र गणतन्त्रको संस्थागत विकास गर्न आफुहरुले मूल कम्युनिष्ट पार्टी माओबादी रोजेको उनले बताए । 

 

अब मुलुकको नेतृत्व र कम्युनिष्ट पार्टी बचाउने भनेको प्रचण्डबाहेक कसैले नसक्ने भन्ने निश्कर्ष निकाल्दै माओवादीमा प्रवेश गरेको उनीहरुको भनाई थियो । चौधरीसँगै एमाले छाड्नेहरुमा लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता
चौधरीलगायत छन् । उता काँग्रेस छाडेर माओबादी प्रवेश गर्नेहरुमा विनय राय, जयप्रकाश चौधरी, विनयकुमार राय, बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध
माझीलगायत रहेको माओवादी बुढीगंगा इन्चार्ज इश्वरी आचार्यले बताए । 


यसअघि प्रवेश गरेका बलभद्र सरदारसँग वडा नम्बर ३ का अध्यक्ष उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमाले वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत दर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए । 


बलभद्र तत्कालिन टंकीसिनवरी गाविस अध्यक्षसमेत हुन् । उनी गत स्थानीय तहको निर्बाचनमा झिनो मतले गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार जितु थापासँग पराजित भएका थिए । सरदार एमाले ६ नम्बर क्षेत्रीय कमिटीको पनि इन्चार्जसमेत थिए ।