रौतामाई ४ बालमैत्री वडा घोषित 

२0७९ आश्विन ४ मंगलवार
रौतामाई ४ बालमैत्री वडा घोषित 

उदयपुर, असोज ४


उदयपुरको रौतामाई गाउँपालिका वडानं ४ पोखरीलाई बालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेसँगै वडानं ४ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।


यो सँगै बालमैत्री घोषणा हुनेमा उदयपुरको रौतामाई गापा ४ दोस्रो पर्दछ । यसअघि सोही पालिकाको केन्द्र रहेको वडानं २ भुट्टारलाई घोषणा गरिएको थियो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ ।


५ सय ३६ घरधुरी रहेको वडानं ४ मा ३ हजार २ सय १६ जनसंख्या रहेको छ । ५१ सुचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टिटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनु पर्ने व्यवस्था छ । 


त्यसैगरी एक बर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनु पर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ । 


त्यस्तै छाउपडी, कमलरी जस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका बिद्यालय गएको, सडक बालबालिका सुन्य, बालसंजाल गठन, बिद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरु समावेश भएको लगायतका कार्य हुनु पर्ने निर्देशिकामा उल्लेख छ । 


बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष रबिन्द्रकुमार खत्रीले बताए । बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिइएको उनले बताए ।


बालमैत्री वडा घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले बालमैत्री घोषणा संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं ।


गाउँपालिकाका उपाध्यक्ष भुपिन्द्रबहादुर थापाले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना तर्र्जुमा गर्ने बताए । उनले बालमैत्री घोषणाले गाउँपालिकाको पहिचान स्थापित गरेको हुँदा आगामी दिनमा बाँकी रहेका ६ वडा वडालाईसमेत यस कार्यमा अभियान सञ्चालन गरिने बताए ।


कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रमिल अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेल, हुरेण्डेकका विकास बन्जरा, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र सिग्देल, पुर्ववडाध्यक्ष चन्द्रबहादुर मगर, मावि भदौरेका प्रधानाध्यापक कृष्णबहादुर खत्री लगायतले बोलेका थिए । 


उनीहरुले बालमैत्री वडा घोषणासँगै त्यसको दिगोपना हुने गरी काम गर्न अनुरोध गरे । अभियान सफल हुनु आफैमा सुन्दरपंक्ष भएपनि दिगोपनाको अभावमा पुरानै अवश्थामा फर्किने भएकाले त्यसप्रति सचेत रहन उनीहरुले आग्रह गरे ।


कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सुचकअनुसार आर्थिक, भौतिक र सांस्कृतिकरुपमा सहयोग गर्ने वल्र्डभिजन इन्टरनेशनल नेपाल, हुरेण्डेक, जाल्पा एकिकृत विकास समाज, ओरेक नेपाल, विभिन्न बिद्यालय, टोलविकास संस्था, स्वास्थ्य संस्था लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम, स्थानीय भाषा र समुदाय अनुसारका सोराठी, बालन, चण्डि नाँच तथा झाकी प्रर्दशन गरिएको थियो । 


साविक पोखरी गाबिस हुँदा बखत नै २०५९ साल फागुन १७ गते गाउँ बाल अधिकार समिति बनाई अभियान सञ्चालन भएको वडाध्यक्ष खत्रीले बताए । गठन भए यता २०६६ सालदेखि बालमैत्री स्थानीय शासन सम्बन्धि विभिन्न गतिबिधि सञ्चालन हुँदै कार्यविधी २०६८ ले तोकेवमोजिम गतिबिधी सञ्चालन हुँदै आएको उनले बताए ।