यायोक्खा उदयपुरको अध्यक्षमा गंगा

२0७९ आश्विन २ आईतवार
यायोक्खा उदयपुरको अध्यक्षमा गंगा

उदयपुर, असोज २

किराती समुदायको अगुवा संगठन किरात राई यायोक्खा उदयपुरको अध्यक्षमा गंगा राई चयन भएकी छिन् । शनिबार गाईघाटमा सम्पन्न ९ औं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा १५ सदस्यीय समितिको चयन गरेको हो । 


समितिका उपाध्यक्षमा डम्बरबहादुर राई र शुभराज राई, सचिव सृुरेन्द्र खालिङ, सहसचिव कौशिला राई र मानबहादुर राई, कोषाध्यक्षमा अन्जना राई र सहकोषाध्यक्ष गीता राई निर्वाचित भएका छन् । तयस्तै सदस्यमा इन्द्रबहादुर राई, आकाश राई, निशान राई, राजकुमार राई, ऋषि राई, केशर राई र प्रबिण राई चयन भएका छन् । 


त्रियुगा नगरपालिका ११ साकेलाटोलस्थित किरात राई स्मृति पार्कमा यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राईको प्रमुख आतिथ्य, केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बिमल किराती र अर्का केन्द्रीय सदस्य गणेश खालिङको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको हो । 


अध्यक्ष निर्वाचित गंगा राई पत्रकारसमेत हुन् । नेपाल पत्रकार महासंघ उदयपपुकी उपाध्यक्षसमेत रहेकी राई उदयपुरगढी गाउँपालिकाकी स्थायी बासिन्दा हुन् । अध्यक्षका लागि चौदण्डीगढीका पत्रकार राजेन्द्र दुष्ट र त्रियुगा १० का निवर्तमान अध्यक्ष नविन राई पनि आकांक्षी थिए । ३ जना अध्यक्षका आकांक्षी भएपछि सर्वसम्मत नेतृत्व चयन गर्न केही समय लागेको थियो । तर, आपसी बहस र छलफलपछि सर्वसम्मत उनको अध्यक्षतामा समिति गठन भएको यायोक्खा उदयपुरका निवर्तमान उपाध्यक्ष दिपक किरातीले बताए ।  


निवर्तमन अध्यक्ष र उपाध्यक्ष दुवैलाई यायोक्खाको आगामी कार्यकालमा केन्द्रीय सदस्य पठाउने भद्र सहमति भएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिलाई शनिबार राति नै पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।