उदयपुरमा २ महिनामा ४३ फरार भियुक्त पक्राउ

२0७९ आश्विन १ शनिबार
उदयपुरमा २ महिनामा ४३ फरार भियुक्त पक्राउ

उदयपुर, असोज १

चालु आर्थिकवर्ष सुरु भएको २ महिनाभित्र बिभिन्न आपराधिक गतिबिधिमा संलग्न भई दोषी प्रमाणित भए पनि भाग्दै आएका ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । गएको साउन १ देखि भदौ मसान्तसम्ममा प्रहरी नजरमा ‘फरार’ २ महिला र ४१ पुरुष पक्राउ परेका हुन् । 
    

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ ४३ जना अभियुक्तहरुमा वन मुद्धाका २३ जना छन् भने लागू औषधका ७, जवरजस्ती करणीका ४ जना रहेका छन् । त्यस्तै सवारी ज्यानका २, बैंकिङ कसुरका २, बहु बिवाहका १ र बिबिध अपराधतर्फ ४ जना रहेको प्रहरी प्रवक्ता डिएसपी राकेशकुमार पोदारले बताए । 


डिएसपी पोदारका अनुसार अदालतले उनीहरुलाई ११ वर्ष १० महिना २० दिन कैद भुक्तान तोकेको छ । त्यस्तै पक्राउहरुबाट १० लाख ६३ हजार ८ सय २८ रुपैंया बिगो जरिवाना असुल उपर हुने छ । उनीहरु सबैलाई पक्राउलगत्तै अदालतको जिम्मा दिइएको छ भने अदालतले कैद भुक्तानका लागि कारागार पठाउनुका साथै बिगो जरिवाना असुल प्रक्रिया अघि  बढाएको छ । 


जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सरकारको निर्देशन अनुसार बिभिन्न अपराधमा अदालतले दोषी प्रमाणित गरे पनि भाग्दै आएकाहरुलाई पक्राउ गर्न अभियानै सञ्चालन गरिएको छ । त्यसका लागि प्रहरी कार्यालयले विशेष टोली गठन गरी फरारहरुको खोजी गर्दै पक्राउ गर्ने गरेको छ । अभियान अन्तर्गत केहीवर्षयता सयौं फरार अभियुक्त पक्राउ परेर कैद र जरिवाना सजाय भुक्तान भईरहेको एसपी फुयालले बताए ।