दुई माओबादी नेताको कारबाही फुकुवा

२0७९ भाद्र २८ मंगलवार
दुई माओबादी नेताको कारबाही फुकुवा

उदयपुर, भदौ २८

गत वैशाख ३० गतेको स्थानीयतह चुनावमा बिद्रोही उम्मेदवार बनेपछि पार्टी निस्कासनमा परेका उदयपुरका दुई माओबादी नेताको कारबाही फुकुवा भएको छ । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध 'बागी' दिएवापत निलम्बनमा परेका नेकपा (माओबादी केन्द्र) लिमचुङबुङ गाउँ पार्टी कमिटीका पूर्व अध्यक्ष तथा सचिवालय सदस्य होम किराती र उपाध्यक्ष भिम किराती फुकुवामा परेका हुन् ।


गाउँपालिका अध्यक्षका आकांक्षी रहेका होमलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर गाउँपालिका अध्यक्षमा उठेका थिए । त्यस्तै वडा नं. १ मा वडाध्यक्षका आकांक्षी भिमले पनि टिकट नपाएको भन्दै बागी वडाध्यक्ष उठेका थिए । उनीहरु दुवैलाई वैशाख तेस्रो सातादेखि पार्टीले साधारण सदस्यसमेत नरहने गरी जिम्मेबारीबाट हटाएको थिाये । 


गत शनिबार बसेको लिमचुङबुङ गाउँ पार्टी कमिटीको बैठकले कारबाहीमा परेको झण्डै ४ महिनापछि उनीहरुको निलम्बन फुकुवा गर्न प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । पार्टी पोलिटव्युरो सदस्य तथा संघीय सांसद सुरेशकुमार राई (हिमाल), निर्वाचन परिचालन कमाण्ड संघीय निर्वाचन क्षेत्र २ का इन्चार्ज मोहन खत्री, २ नं. निर्वाचन क्षेत्र (क) का इन्चार्ज तथा प्रदेश सांसद नारायण बुर्जामगर र जिल्ला समन्वय संयोजक बिनोद कटुवालसहित उपस्थित बैठकले उनीहरुलाई पार्टीको साविक जिम्मेबारीमा फर्काउन प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।


गाउँ पार्टी कमिटी अध्यक्ष मेजर राईको अध्यक्षतामा बसेको बैठकले निलम्बित दुवै नेतालाई आउँदो अशोज पहिलो साता बस्ने बैठकमा साबिकको हैसियतमा सहभागी हुनेगरी फुकुवा गर्ने निर्णय गरेको गाउँ पार्टी इन्चार्ज झनक बिकले बताएका छन् ।