त्रियुगा जनप्रतिनिधिको 'हनिमुन' २९ उपलब्धी गरेको दावा

२0७९ भाद्र २0 सोमबार
त्रियुगा जनप्रतिनिधिको 'हनिमुन' २९ उपलब्धी गरेको दावा

उदयपुर, भदौ २०

जिल्लाको सबभन्दा ठूलो र सदरमुकामको नगरपालिकाअ त्रियुगामा नयाँ जनप्रतिनिधि आएको सयदिन पुगेको छ । कार्यभार सम्हालेको सयदिनमा नगरपालिकाले २९ वटा उपलब्धी हासिल गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 


सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सयदिने 'हनिमुन पिरियड'को उपलब्धी सार्वजनिक गर्दै नगरप्रमुख बसन्तकुमार बस्नेतले यो अवधिमा बिभिन्न सकारात्मक र उपलब्धीमूलक २९ वटा कामहरु भएको दावी गरे । उनका अनुसार बिगतका राम्रा योजनाहरुको निरन्तरता तथा नयाँ र राम्रा खाले कार्यक्रमहरु यो अवधिमा भएका छन् । 


५ वर्षभित्र त्रियुगा नगरबासीलाई समृद्ध र सुखी बनाउने योजनाका साथ कार्यभार सम्हालेको सयदिनमै नगरबासीमैत्री, बिपन्न, गरिव, दलित, पिछडावर्ग र सीमान्तकृतलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरु लागू गरेको बस्नेतले बताए । उनले ‘आमाको स्वास्थ्य’ अन्तर्गत बैकल्पिक उर्जा प्रबद्र्धन कार्यक्रममार्फत प्रदेश सरकारबाट ३ सय २५ र नगरपालिकाबाट २ सय ६६ गरी ५ सय ११ वटा विद्युतीय (इन्डक्सन) चुल्हो बितरण गरिएको बताए । 


नगरपालिका कार्यालयभित्रै शिसु स्याहार केन्द्र सञ्चालन गरेको, महिला शौचालयमा सेनिटरी प्याड राख्न थालेको, बृद्धबृद्धा, अशक्त र अपाङ्तालाई सहयोग गर्न वडा कार्यालयमार्फत घरघरमा सामाजिक सुरक्षा भत्ता लगिदिएको बस्नेतले बताए । सो कार्यक्रम अन्तर्गत (क) बर्गका अपाङ्गता २२, (ख) बर्गका २७, (ग) बर्गमा ५ र (घ) बर्गमा ५ गरी ५९ जनालाई सयदिनभित्र परिचयपत्र बितरण गरी भत्ता दिइएको उनको दावी छ । 


चालुवर्ष सुरुदेखि त्रियुगाले सबै योजनाको रकम भुक्तानी गर्दा विद्युतीय भुक्तानी प्रणाली (इ–पेमेन्ट सिस्टम)मार्फत गर्ने,, स्थानीय शासन सुदृढिकरण कार्यक्रम अन्तर्गत मुसहर समुदायका लागि ‘मुसहर समुदायको सर्वाङ्गिण विकास परियोजना’ सञ्चालन गरेको, चालु वर्षकै बजेटबाट नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न ३ करोड बिनियोजन गरी ठेक्का सम्झौता भईसकेको पनि मेयर बसनेतले बताए । 


त्यसैगरी विश्व बैंकको १ अर्ब अनुदान सहयोगमा मदन भण्डारी लोकमार्गसँग जोडिएका गाईघाट बजारक्षेत्रका बिभिन्न सडकहरुमा १० किलोमिटर कालोपत्रे गर्न  सम्झौता हुन लागेको, भईपरि आउने बिपतको दीगो र दीर्घकालीन व्यवस्थपन गर्न छिमेकी स्थानीयतहहरु रौतामाई गाउँपालिका र चौदण्डीगढी नगरपालिकासँगको साझेदारीमा एकीकृत बिपत व्यवस्थापन केन्द्र स्थापना गर्ने तयारीलाई पनि  नगरपालिकाले ‘सयदिने उपलब्धी’ मानेको छ । 


केहीदिनअघिको वर्षामा घर आवास र कृषियोग्य जमिन कटान हुन नदिन प्रत्येक वडामार्फत तारजाली उपलब्ध गराई बिपत रोकथाम कार्य गरेको पनि मेयर बस्नेतको दावी छ । ‘सहरी सौन्दर्यकरण कार्यक्रम’ अन्तर्गत गाईघाट बजारको मुख्य सडकको डिभाईडरहरुमा दुवो रोपेको, सडक पेटीमा राखिएका फलफुल तथा तरकारी पसल नगर प्रहरी कार्यालय परिसरमा एकीकृत थलो बनाई स्थानान्तरण गरेको तथा सडक मिचेर बनाइएका अनधिकृतट घर टहरा भत्काएर सफाई अभियान चलाइएको कुरा पनि नगरपालिकाको सय दिने उपलब्धी मानिएको छ । 


त्यसैगरी नगरबासीलाई उपचार गर्न सहज बनाउन वडा नं. ७ स्थित संगम समाज नेपाललाई १ थान एम्बुलेन्स हस्तान्तरण गरेको, वडा नं. ५ को देउरीस्थित स्वास्य ौकीलाई ग्रामिण अल्ट्रसाउण्ड उपकरणलगायत बिभिन्न स्वास्थ्य सामग्री बितरण गर्ने काम पनि सय दिनभित्र भएको छ । 


नगरपालिका भए पनि सञ्चार नेटवर्कको समस्या हुने गरेको वडा नं. ५ को दमौटी र ६ को घनचक्रेमा दुई वटा नेपाल टेलिकमको टावर यही बीचमा निर्माण गरेको, उपभोक्ता समितिमार्फत निर्माण हुने हरेक योजाहरुमा १५ प्रतिशत जनसहभागिता अनिवार्य गरिएको तथा त्रियुगाभित्र कार्यक्षेत्र बनाएका पत्रकार, गरिव, बिपन्न र सीमान्तकृत समुदायलाई स्वास्थ्य बिमा गर्न ५० प्रतिशत अनुदानको व्यवस्था गरेकोलाइ पनि मेयर बस्नेतले उपलब्धी मानेका छन् । 


यसअघि नगरपालिकामै हाजीर गर्दै जागीर खादै आएका प्राविधिक कर्मचारीलाई ‘एक वडा, एक प्राविधिक’ भन्ने नाराका साथ हरेक वडामा खटाएर सडक बत्ती बिस्तार र नियमित गर्न थालेको, चालु वर्षदेखि ९ लाखसम्मको योजना निर्माणमा उपभोक्ता समिति गठन, योजनाको प्राविधिक अनुगमन र मूल्याङ्कनसम्मको अधिकार वडालाई नै प्रत्यायोजन गरेको छ । 


नगरपालिकाको ऐलानी जग्गा व्यवस्थापनका लागि १५ वटै वडा प्रत्येकलाई ५ लाख बजेट दिएर जग्गाको लगत संकलन गर्न अधिकार दिइएको छ । त्रियुगा ३ को रामजानकी मन्दिरको नाममा रहेको १५ कठ्ठा जमिनमा तरकारी तथा फलफुल पसल, १३ नंं. को फुलजोरमा डम्पिङसाईट निर्माण, १६ वटै वडामा मेलमिलाप केन्द्र खोल्नुलाई पनि नगरले सय दिनको उपलब्धीको परिभाषाभित्र पारेको छ । 


वडा नं. ७ मा खानेपानी योजना अन्तर्गत पाईपलाईन बिस्तार र ट्यांकी निर्माण गरी सुद्ध खानेपानी बितरण थालिएको, ‘हेल्लो उपमेयर’ कार्यक्रम अन्तर्गत मानसिक अवस्था कमजोर भएका ५ जनालाई मनोबिमर्श तथा स्वाथ्य उपचार गरी परिवारिक पुनरमिलन गराइएको छ । ४ नं. वडाको बगाहामा लगानी बोर्ड र नगरपालिकाको साझेदारीमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको कुरालाई पनि नगरपालिकाले सय दिनको उपलब्धी मानेको छ । 


पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै उपमेयर महेश्वरी राईले त्रियुगा नगरपालिका सदरमुकाम र जिल्लाकै अगुवा र ठूलो स्थानीयतह भएकाले यसलाई विकसित, सुन्दर, सफा, हराभरा बनाउने जिम्मेरी कुशलतापूर्वक निर्वाह गर्न  आफुहरु लागिरहेको बताईन् । जनप्रतिनिधिले गर्ने हरेक काममा पत्रकार र नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दलहरुले साथ दिन पनि उममेयर राईले आग्रह गरिन् । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले त्रियुगालाई विकसित र सफल नगरपालिका बनाउन मेयर, उपमेयरलगायत सम्पूर्ण जनप्रतिनिधिसहित आफु नेतृत्वको कर्मचारी समूह लागी पर्दै आएको बताए । सेवाग्राहीको काम छिटो छरितो तवरले गर्दै चुस्त, दुरुस्त, पारदर्शी र भ्रष्टाचारमुक्त नगरपालिका बनाउन पत्रकारहरुबाट महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको वनले बताए ।