बेलकामा भाइ-बुहारी र भतिजको हत्या गरेको बस्नेतले स्वीकारे 

२0७९ भाद्र १८ शनिबार
बेलकामा भाइ-बुहारी र भतिजको हत्या गरेको बस्नेतले स्वीकारे 

उदयपुृर, भदौ १८

शुक्रबार विहान बेलका नगरपालिका ७ मा आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गरेका नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन् । खेततर्फ जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, उनकै श्रीमति ३३ वर्षीया सरिता र १३ वर्षका भतिज सुजनको हत्यारा बस्नेतले प्रारम्भिक बयानमै हत्या स्वीकारेका हुन् ।


इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार बेलका ७ मैनामैनीको गोवाटारस्थित बाबिङ खोलाको खेत हिडेका राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेतमा पुगिसकेका सविता र सुजनलाई खोलामा धारिलो हतियार खुकुरीले हत्या गरेका हुन् । एकान्त ठाउँमा विहान ११ः०० बजे हत्या गरे पनि घट्नाको जानकारी भने प्रहरीलाई ३÷४ घण्टापछि मात्र थाहा भएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । 


३ः०० बजे मात्र स्थानीयमार्फत प्रहरीलाई जानकारी आएपछि मात्र हत्याराको खोजी सुरु भएको थियो । कसैले नदेखेकाले निर्धक्क हिडेका बस्नेतलाई बेलका ६ को बरबोटेस्थित मदन भण्डारी लोकमार्गमा पैदल हिडिरहेको अवस्थामा साँझ ५ः३० बजे भेटेर पक्राउ गरिएको फुयालले बताए । 


‘एकान्त ठाउँको खेतमा हत्या गरेर हिडेको कुरा हामीलाई ३÷४ घण्टापछि जानकारी आयोे’ फुयालले भने ‘खवर पएलगत्तै हामीले चारैतिर प्रहरी परिचालन गर्दा ६ नं. वडा बरबोटे आईसकेको अवस्थामा समात्यौँ ।’ इप्रका रामपुरबाट इन्सपेक्टर कमाण्ड र जिल्ला प्रहरीबाट डिएसपी कमाण्डमा टोली खटाएर खोजी गर्दा उनी पक्राउ परेका हुन् । 


रगत लतपतिएको खुकुरी भिरेकै अवस्थामा भेटिएका बस्नेतले प्रारम्भिक बयानमै  भाइ–बुहारी र भतिजको हत्या गरेको स्वीकारे फुयालले बताए । बस्नेतले रिसको आवेगमा आएर भाईको हत्या गरेको, त्यसपछि ती दुईजनालाई पनि किन बाँकी राख्नु भनेर सरासर खोला झरेर हत्या गरेको बताएको एसपी फुयालले बताए । 


शुक्रबार पक्राउ पर्दा रात परिसकेको र शनिबार बिदा भएकाले आईतबार म्याद थपेर घट्नाबारे अनुसन्धान थाल्ने प्रहरीको तयारी छ । अदालतबाट म्याद थपेपछि पत्रकार सम्मेलन गरी अपराधीलाई सार्वजनिक गर्ने योजना फुयालले सुनाएका छन् । 

 

क्याप्सनः मृतक बस्नेत दम्पति र छोरो सुजन । तस्विरः Nagariknews.com