बँदेलपानीमा कहाँबाट आयो ५३ थान बटम ?

२0७९ भाद्र १४ मंगलवार
बँदेलपानीमा कहाँबाट आयो ५३ थान बटम ?

उदयपुृर, भदौ १४

 

मितिः ०७९ भदौ ४ गते 
स्थानः बसाहा वीरेन्द्र चोक, चौदण्डीगढी नगरपालिका ३ ।
समयः विहानको २ः०० बजे 
गस्ती कमाण्डः असई अजयकुमार राई, बसाहा प्रहरी चौकी । 


स १ त ११३९ नं. को पिकअप भ्यान पर्यटकीयक्षेत्र चौदण्डीगढी जाने सडक भएर आमसाल ओरालो हुँदै तिब्रगतिमा आयो । वीरेन्द्रचोकदेखि मेजर चौतारा हुँदै सप्तरीको कन्चनपुर खण्ड जोडिने बसाहा–नडाहा सडकतर्फ सोझिएको पिकअपलाई गस्तीमा रहेको प्रहरी टोलीले रोक्यो । रात छिप्पिएर उज्यालो खस्न नभ्याएको बेला यसरी हुईकिदै आएको गाडीप्रति शंका लागेर गस्तीमा रहेका बसाहा प्रहरी चौकी प्रमुख असई अजयकुमार राई कमाण्डको टोलीले रोकेर हेर्दा गाडीभित्र काँचो काठका ५३ थान बटम भेटियो । 


सोधखोज गर्दा चित्तबुझ्दो जवाफ त आएन नै, काठ वैध हुने कुनै कानुनी आधार प्रष्ट्याउने कागजात पनि भेटिएन । गाडीमा चालक सप्तरीको कन्चनरुप नगरपालिका ११ का अन्दाजी ३५ वर्षीय सुरेन्द्र धामी र चौदण्डीगढी ३ कै ३५ वर्षीय मेघराज सार्की मात्र थिए । चित्तबुझ्दो जवाफ र काठको कानुनी आधार नपाएपछि असई राईले काठ नियन्त्रणमा लिएर  इलाका प्रहरी कार्यालय बेलटार र जिल्ला प्रहरीमा घट्नाबारे जानकारी दिएर विहान सबडिभिजन वन कार्यालय बेलटारको जिम्मा लगाए ।  


सव डिभिजनबाट डिभिजन वन हुँदै घट्नाबारे अनुसन्धान सुरु भयो । स्थानीय सामुदायिक वन समूहसँग सोधपुछ भयो, अनुसन्धानकै क्रममा चौदण्डीगढी ३ का राजेन्द्र भन्ने ठाकुर राईलाई पनि पक्राउ गरेर तथ्य पत्ता लगाउने काम भईरहेको छ । घट्ना १० दिनअघिकै भए पनि अहिलेसम्म डिभिजन वन कार्यालय गाईघाटले वास्तविक्ता पत्ता लगाउन भने सकेको छैन । 


अवैध काठ प्रहरीले पक्राउ गरेर गाडी र चालकसहित डिभिजनमा बुझाएको तर, घट्नाबारे सबै तथ्य नखुलिसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताएका छन् । उनका अनुसार घट्नाकै बेला चालकसहित दुईजना पक्राउ परेको र अनुसन्धानको क्रममा थप एकजनालाई नियन्त्रणमा लिइएको तर, विस्तृत तथ्य खुलिसकेको छैन । 


गाडीमा भेटिएको ५३ थान बटम २८ क्युबिक फिट परिमाणको रहेको साहले बताएका छन् । जसको हालको बजार मूल्य अढाई लाख हाराहारी रहेको बताइएको छ । त्यो काठ कसले कुन प्रयोजनमा कहाँबाट ल्याएको भन्ने सबै खुल्न केही समय लाग्ने उनले बताएका छन् । 


काष्ठ व्यवसायीसमेत रहेका सामु्दायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशल बस्नेतले भने उक्त काठ चोरीको भएको हुनसक्ने र यसमा पेशेवर तस्करको संलग्नता हुनसक्ने अनुमान गरिएको बताएका छन् । सो क्षेत्रमा देउराली सामुदायिक वन र देवीथान सामुदायिक वन उपभोक्ता समूह गरी दुई समूह रहेको तर, ती दुवैले आप्mनो क्षेत्रको काठ नभएको दावी गरिरहेको बस्नेतले बताएका छन् ।