जनप्रतिधिनिलाई विपद् व्यवस्थापन गर्न सिकाइदै

२0७९ भाद्र १0 शुक्रबार
जनप्रतिधिनिलाई विपद् व्यवस्थापन गर्न सिकाइदै

उदयपुर, भदौ १० 

कुनै पनि बेला पर्न सक्ने दैवी बिपत्तिबाट बँच्ने उपायबारे यहाँका जनप्रतिनिधिलाई तालिम दिइएको छ । विपत परेका बेला कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित भएर जनप्रतिनिधिलाई तालिम दिइएको हो । 


‘स्थानीय विपत जोखिम व्यवस्थापन’ नाम दिइएको तालिम नवप्रभात नेपाल उदयपुरको सहजीकरणमा दिइएको हो । नवप्रभात नेपालले जिल्लाका ५ वटा स्थानीयतहका जनप्रतिनिधिलाई ३ दिने तालिम बिहीबारसम्म सञ्चालन भएको हो । तालिममा स्थानीयतहमा विकासमा विपत व्यवस्थापन मुल प्रवाहीकरण, विपद् व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार र भावी योजनालगायत विषयमा छलफल केन्द्रित गरिएको नव प्रभात नेपालका अध्यक्ष दुर्गानन्द चौधरीले बताए । 


स्थानीयतहमा विपतसम्बन्धी ऐन, नियम तथा कार्यविधी र योजना निर्माण, राहत वितरणका लागि स्फेयर मापदण्ड बनाउने तरिकासम्बन्धी पनि तालिका सहभागीहरुलाई जानकारी गराइएको चौधरीले बताए । विपतविज्ञ खिलाराज दाहाल र अध्यक्ष चौधरीलेको सहजिकरणमा सम्पन्न तालिममा बेलका र त्रियुगा नगरपालिका तथा ताप्ली, उदयपुरगढी र  लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागिता थियो ।  


तालिम समापन कार्यक्रममा जिल्ला विपत व्यवस्थापन समितिका सदस्यसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले विपतका घट्ना जुनसुकै बेला आई पर्नसक्ने भएकाले त्यसबाट बँच्न तथा व्यवस्थापन गर्न पुर्वयोजना आवश्यक रहेको बताए । विपतको तत्काल सामना गर्न सक्नेगरी नीति नियम र कार्यक्रम बनाएर अघि बढ्न सके बिपतबाट जनधनको क्षति कम गर्न सकिने उनको भनाई थियो । 

 

कार्यक्रमका सहभागी जनप्रतिनिधिहरुले विपतसम्बन्धी आवश्यक्ता अन्ुसार ऐन, कानुन तथा विभिन्न योजनाहरु निर्माण गरेर लागू गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले विपत न्युनिकरणका लागि थुप्रै योजना बनाउन बाँकी देखिएको भन्दै आगामी दिनमा त्यसलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।