नेपालटारमा माओबादीको चुनावलक्षित बैठक, एकल बहुमत ल्याउने दावी

२0७९ भाद्र ९ बिहीबार
नेपालटारमा माओबादीको चुनावलक्षित बैठक, एकल बहुमत ल्याउने दावी

नेपालटार, भदौ ९

नेकपा (माओबादी केन्द्र) उदयपुरको निर्वाचन क्षेत्र नं. २ स्तरीय कमाण्ड बैठक बिहीबार सम्पन्न भएको छ । आगामी मंसिर ४ गते घोषित चुनावलाई लक्षित गरेर आयोजित बैठक उदयपुरगढी गाउँपालिकाको नेपालटारमा सम्पन्न भएको हो । 


बैठकमा प्रदेश समिति सदस्यहरु, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च सदस्य, प्रदेश सल्लाकार सदस्य, प्रदेश बिभाग प्रमुख, उपप्रमुख, सचिव तथा सदस्य, प्रदेश परिषद सदस्य, प्रदेश बिभाग सदस्य, गाउँ तथा नगरपालिका पदाधिकारी, जिल्ला समन्वय सदस्य, जनवर्गीय तथा मोर्चा संगठनका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारीहरुको उपस्थित थियो । 


बैठकमा पार्टी पोलिटव्युरो सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष निर्वाचित सांसद सुरेशकुमार राई, संविधानसभा सदस्यहरु मोहन खत्री, मणि खम्बु, भेषकुमारी राउत, जिल्ला सहइन्चार्ज राजन किराती, जिल्ला समन्वय संयोजक बिनोद कटुवाल, सचिव किरण राई, निर्वाचन क्षेत्र इन्चार्ज, सहइन्चार्ज, प्रदेशसभा इन्चार्ज, सहइन्चार्ज, २ नं. क्षेत्रभित्र पर्ने गाउँ तथा नगरपालिका कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता थियो । 


कार्यक्रममा प्रमुख अतिथि पोलिटव्युरो सदस्य तथा सांसद राईले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर जिताउने गरी नेता कार्यकर्ता परिचालन हुनुपर्नेमा जोड दिए । पार्टी नेता कार्यकर्ताले बिगतका आन्तरिक मतभेद, कमीकमजोरी र गल्तीहरुलाई सच्याउँदै अघि बढ्न आग्रह गर्दै राईले आउँदो चुनावमा सकेसम्म माओबादीको एकल बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने, नसके गठबन्धनलाई स्पष्ट दुईतिहाई बहुमत ल्याउने गरी चुनावी तयारीमा लाग्न निर्देशन दिए । 


प्रतिगमनलाई परास्त गर्दै प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थाको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व रहेको भन्दै सांसद राईले मंसिर ४ को चुनावपछि देशलाई समृद्धितर्फ अघि बढाउन सकिने बताए । कार्यक्रममा कटारी, ताप्ली, उदयपुरगढी, रौतामाई र लिमचुङबुङ गाउँपालिकाका पार्टी पदाधिकारी र अगुवा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।