बल्ल बन्यो देउरी खोलामा पुल

२0७९ भाद्र ९ बिहीबार
बल्ल बन्यो देउरी खोलामा पुल

उदयपुर, भदौ ९

सदरमुकाम भए पनि खोलानालामा पुल पुलेसा नहुँदा वर्षायाममा बाढीको समस्या भोग्दै आएका त्रियुगा नगरपालिका ४, ५ र ६ नं. वडाबासीलाई देउरी खोलामा पक्की पुल बनेपछि आउजाउमा सहज भएको छ । 


प्रदेश सरकार, प्रादेशिक सडकपुल एकाई (पिआरबिएसयु) इटहरी मार्फत पूर्वाधार विकास कार्याय उदयपुृरले देउरी–श्रीपुर खण्डमा पर्ने देउरी खोलामा पक्की पुल बनाएपछि स्थनीयबासी वर्षायाममा सुरक्षित हुन पुगेका हुन् । ०७७ जेठ १ गते निर्माण सुरु भएको पुल सम्झौता अवधिभित्रै सम्पन्न भएपछि सञ्चालनमा आएको हो । 


०७८ चैत ३० गते सक्नुपर्ने पुल चैत २१ गते नै निर्माण सम्पन्न भए पनि उद्घाटन भने भर्खरै गरिएको कार्यालयका योजना अधिकृत तुलसी सुबेदीले बताए । उनका अनुसार ७१ मिटर लामो, १० मिटर चौडाई रहेको ३ स्पानको पुल बनेर भर्खर हस्तान्तरण भएको छ । 


पुलको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच प्रदेश भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले गरे । लेखा अधिकृत रोहित श्रेष्ठले पवित्र निर्माण सेवा गाईघाटले लागत इस्टीमेटभन्दा २९ प्रतिशत बिलो (कम मूल्य)मा निर्माण गरेको बताए । उनका अनुसार पुलको लागत इस्टीमेट ६ करोड ११ लाख ५१ हजार २ सय ६२ रुपैंया रहेकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा पवित्र निर्माण सेवाले ४ करोड ३४ लाख ६४ हजारमा निर्माणको जिम्मा लिएको हो । 


वर्षौंदेखि पुलको अभावमा वर्षायाममा बाढीको चपेटामा पर्दै आएका देउरी, बगाहा, श्रीपुर, जलजले, दमौटीलगायत त्रियुगा ४, ५ र ६ नं. वडाबासीलाई वर्षेनी बाढीले सताउने खोलामा पक्की पुल बनेपछि आउजाउ गर्न सहज भएको वडाध्यक्ष उद्धवसिंह थापाले बताए । उनका अनुसार लामो समयदेखि सो खोलामा पुल बनाउन गर्दै आएको स्थानीयबासीको माग संघीयता र गणतन्त्र आएपछि मात्र पुरा भएकोमा जनता खुसी छन् । 


पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) जितेन्द्रकुमार कर्णका अनुसार गत वर्ष नै पुल निर्माण कार्य सम्पन्न भए पनि स्थानीयतहको चुनावका कारण केही समय ढिला हस्तान्तरण गर्नु परेको हो । उदयपुर र खोटाङ दुई जिल्लाको रेखदेखको जिम्मा पाएको पूर्वाधार कार्यालयले अन्य थुप्रै आवधिक र बहुवर्षीय योजनाहरु निर्माण गरिरहेको डिई कर्णले बताएका छन् ।