बिप्लबलगायत ४ दलको मसाल जुलुस, ७ गते 'नेपाल बन्द'

२0७९ भाद्र ६ सोमबार
बिप्लबलगायत ४ दलको मसाल जुलुस, ७ गते 'नेपाल बन्द'

उदयपुर, भदौ ६

डेढवर्षअघि सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरेकोलगायत बिभिन्न ४ बुँदे माग अघि सार्दै नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपासहित ४ क्रान्तिकारी पार्टीले सोमबार साँझ गाईघाटमा मसाल जुलुस प्रदर्शन गरेका छन् । 


नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने, देशभर थुनामा रहेका नेता कार्यकर्ता बिनाशर्त रिहा गर्ने तथा झुटा मुद्धाहरु खारेज गर्ने गरी सरकारले नेकपासँग ०७७ फागुन २१ गते गरेको सम्झौताको उल्लंघन गरेको बिरोधमा मसाल जुलुस प्रदर्शन गरेको पार्टीले जनाएको छ । 


सरकारले गरेको ३ बुँदे सम्झौताबिपरित हाल आएर नेकपाका नेता कार्यकर्तामाथि लागेको झुटा मुद्धा व्युँताएर पक्राउ पुर्जी जारी गरेको, महँगी, भ्रष्टाचार र अनियमितता बढाएको बिरोधमा क्रान्तिकारी दलहरुले बिरोध प्रदर्शन गरेको नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । पौड्यालसहितको ४ वटै दलका नेता कार्यकर्ताहरुको समूहले निकालेको मसाल जुलुस बजारका बिभिन्न सडक परिक्रमा गरी चोकमा पुगेर बिसर्जन भएको थियो ।


सो अवसरमा बितरिक ४ दलको संयुक्त प्रेस बिज्ञप्तीमा नेकपासँग गरेको ३ बुँधे सहमति तोडेको, राष्ट्रघाती सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको बिरोधमा मसाल जुलुस प्रदर्शन गरेको जनाइएको छ । 


३ बुँदे सहमति लागू गर्न, झुटा मुद्धा तत्काल खारेज गर्न र पक्राउ पुर्जी फिर्ता लिन माग गर्दै विज्ञप्तीमा एमसीसी र एसपिपि खारेज माग गरिएको छ । साथै असमान सन्धि सम्झौता पनि तुरुन्त खारेज गर्न माग गर्दै ७ गते मंगलबार नेपाल बन्दको घोषणा गरिएको छ । नेकपा महासचिव बिप्लब, अर्को नेकपा अध्यक्ष ऋषि कटेल, वैज्ञानिक समाजबादी पार्टीका महासचिव आहुति र नेकपा समाजबादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ को हस्ताक्षर रहेको विज्ञप्तीमा महँगी निन्त्रण, जनबिरोधी गतिबिधि बन्द गर्न पनि माग गरिएको छ ।