किरात राई कर्मचारी मञ्चको अध्यक्षमा राई 

२0७९ भाद्र ५ आईतवार
किरात राई कर्मचारी मञ्चको अध्यक्षमा राई 

उदयपुर 

‘किरात राई कर्मचारी मञ्च उदयपुर’को अध्यक्षमा विश्वजित राई चयन भएका छन् । शनिबार गाईघाटमा आयोजित विभिन्न सरकारी कार्यालयमा कार्यरत किरात राई कर्मचारी भेलाले राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । 


उदयपूरका जेष्ठ कर्मचारी जनस्वास्थ्य अधिकृत चिनबहादुर राईको अध्यक्षता र मञ्चका केन्द्रीय महासचिव अनिल किरातीको उपस्थितिमा सम्पन्न भेलाले त्रियुगा नगरपालिकामा सामाजिक विकास शाखा प्रमुख कार्यक्रम अधिकृत विश्वजीत राईको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । 


नवगठित समितिको उपाध्यक्षमा उदयपुर अस्पतालकी वरिष्ट अनमी छवित्रा राई र सचिवमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा पुष्पराज राईलाई चयन गरेको भेलाले चौदण्डीगढी नगरपालिकाका भक्तकुमार राईलाई सहसचिव र उदयपुर अस्पतालकै स्वास्थ्य बिमा प्रमुख अनमि तारादेवी राईलाई कोषाध्यमा चयन गरेको छ ।


सर्वसम्मत समिति गठन गरेको भेलाले उदयपुरगढी गाउँपालिकाका बबिन राई, कटारी नगरपालिकाका लोकबहादुर राई र रौतामाई गाउँपाकिलाका सरोज राईलाई सदस्य चयन गरेको छ । बेलका नगरपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाबाट १–१ जना सदस्य आगामी बैठकले चयन गर्ने भेलाले निर्णय गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथि मञ्चका महासचिव किरातीले सार्वजनिक प्रशासनमा किरात राई समुदायको प्रतिनिधित्व, पहुँच र सहभागिता बढाउदै किरात राई समुदाय र कर्मचारीबीच आपसी सहयोग, सद्भाव र सहकार्य गर्ने उदेश्यले मञ्चको स्थापना गरेको बताए । उनले राष्ट्र निर्माणमा सबै कर्मचारीलाई एकताबद्ध गर्नका लागि  २०६८ जेठ २५ गते स्थापित मञ्चले हालसम्म किरात बाहुल्यता रहेका ६ जिल्लामा कार्यसमिति गठन गरिसकेको बताए । 


उनका अनुसार उदयपुरबाहेक खोटाङ, सोलुखुम्बु, इलाम, सुनसरी, मोरङ र भोजपुरमा यसअघि नै जिल्ला समिति बिस्तार भईसकेको छ । सार्वजनिक प्रशासन क्षेत्रमा मानव संशाधन विकास, जनचेतना अभिवृद्धि र क्षमता विकास तथा सबलीकरण कार्यक्रम गर्न मञ्चलाई परिचालन गरिने किरातीले बताए ।


मञ्चले स्थापनायता किरात राई समूदायका विधार्थीलाई निशूल्क लोकसेवा तयारी कक्षा सञ्चालन, सार्वजनिक विषयमा अन्तरकृया, गोष्ठी र छलफल गर्दै आएको छ । मञ्चले हालसम्म ७ जिल्लामा समिति गठन गरिसकेको र बाँकी जिल्लामा छिट्टै संगठन बिस्तार गर्ने उदेश्य लिएको छ । प्रमुख अतिथि किरातीले कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै मञ्चको उदेश्य, कार्यभार, हालको गतिविधि, चूनौति र भावी कार्ययोजनाबारे स्पष्ट पारेका थिए । 


कार्यंक्रममा किरात राई यायोक्खा, आदिवासी जनजाति र किराती समुदायको अवस्था तथा उनीहरुको सवाल, कर्मचारीको दायित्वलगायत विषयमा थहन छलफल भएको नवगठित समितिका अध्यक्ष राईले बताए ।