उदयपुर सिमेन्टमा नयाँ अध्यक्ष बस्नेतले कार्यभार सम्हाले 

२0७९ भाद्र ३ शुक्रबार
उदयपुर सिमेन्टमा नयाँ अध्यक्ष बस्नेतले कार्यभार सम्हाले 

उदयपुृर, भदौ ३

गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलले नयाँ नेतृत्व पाएको छ । बिगत ३ वर्षदेखि रिक्त रहेको अध्यक्षमा मन्त्रीपरिषदको साउन १४ गतेको निर्णय अनुसार केशवकुमार बस्नेतलाई नियुक्त गरेको छ । 


पूर्ण सरकारी स्वामित्वको उद्योगमा सञ्चालक समिति सदस्य र विज्ञ सदस्यहरु पनि सरकारले नियुक्त गरको छ । नवनियुक्त अध्यक्ष बस्नेत त्रियुगा नगरपालिका १० बोक्सेका स्थायी बासिन्दा हुन् भने नेपाली काँग्रेसका पुराना नेतासमेत हुन् । सरकारले सञ्चालक सदस्यहरुमा लिलबहादुर बस्नेत, कुवेरप्रसाद राई, रमेशकुमार चौधरी, मीरा लामिछाने र र देवीप्रसाद बराललाई यसअघि नै नियुक्त गरिसकेको छ । २ जना विज्ञ सदस्य नियुक्तिका लागि भने उद्योग विभागले विज्ञापन गरेर प्रक्रिया अघि बढाएको छ ।


नवनियुक्त अध्यक्ष बस्नेतले बुधबार दिउँसो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि उद्योग परिसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतलाई महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेलगायत कर्मचारीको टोलीले स्वागत गरेको थियो । कार्यक्रममा नवनियुक्त सदस्यहरु, उद्योगका कर्मचारी, मजदुर तथा ट्रेड युनियनका पदाधिकारीहरु  पनि उपस्थित थिए । जिएम न्यौपानेले उद्योगको हालको बस्तुस्थिति र भविष्यमा गर्नुपर्ने कार्ययोजनाबारे अध्यक्ष बस्नेतलाई ‘ब्रिफिङ’ गरेका थिए ।


अध्यक्ष बस्नेतलाई ट्रेड युनियनको तर्फबाट उद्योग गुण नियन्त्रण महाशाखा प्रमुख कोविदकुमार काफ्लेले उसिउलिले गुणस्तरीय सिमेन्ट उत्पादनको पहिचान अहिलेसम्म कायम रहँदै आएको भन्दै त्यसप्रति उद्योग परिवार र ट्रेड युनियनहरु प्रतिवद्ध रहेको बताए । सो अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उद्योगको विकास र प्रबद्र्धनमा कर्मचारीहरुले जानकारी गराएको मुलभूत विषयहरुमा केन्द्रित भएर अघि बढ्ने बताए । उद्योगलाई आवश्यक्ता र समयानुकुल गुणस्तरीय सिमेन्ट उत्पादनमा बृद्धि गर्दै बजार बिस्तारमा आफ्नो पूर्ण पहल रहने प्रतिवद्धता उनले व्यक्त गरेका थिए । 


आफु यही जिल्लाबासीसमेत भएको नाताले पनि उद्योगप्रति बढी चासो लिदै आएको र क्षमता अनुसार र गुणस्तरीय सिमेन्ट उत्पादनमा निश्चय नै बढी ध्यान केन्द्रित गर्ने बाचा गरे । वर्षौंसम्मका लागि कच्चा पदार्थ मौज्दात रहेको गुणस्तरीय चुनढुङ्गाको उपयोगका लागि सवैको साथ सहयोग चाहिने भन्दै त्यसका लागि व्यवस्थापनदेखि मजदुर र स्थानीयबासीसम्म समन्वय गरेर अघि बढ्ने बताए ।


उद्योगको र मिल र अ्रन्य मेसिनरी यन्त्र उपकरणहरु जिर्णावस्थामा पुगिसकेकाले उचित मर्मतसंभार र पुनःनिर्माणका लागि चाहिने रकमको जोहो गर्न सरकारबाट आवश्यक अनुदान लिन वा कुनै वाणिज्य बैंकवाट सहुलियत व्याजदरमा ऋण लिनेतर्फ पनि आफ्नो नेतृत्वले ध्यान दिने बताए । उपकरणहरुलाई क्षमता अनुसार उत्पादन गर्नसक्ने बनाउन तथा उपयोग हुन नसकेको अथाह चुनढुङ््गाको ३० वर्षभित्र उचित सदुपयोग गर्न आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता अध्यक्ष बस्नेतको थियो । 


विद्यमान परिमाणभन्दा बढी गैंडा छाप सिमेण्ट उत्पादन गर्न तथा गुणस्तर कायमै राख्न आफु व्यवस्थापनपक्ष, कर्मचारी, मजदुर र ट्रेड युनियनहरुको साथ र सहयोग लिएर अघि बढ्ने पनि उनले बताए । लक्ष्य हासिल गर्नका लागि महाप्रबन्धकलगायत उद्योगका आम कर्मचारी, उद्योगमा क्रियाशिल ट्रेड युनियनहरु, पत्रकार र आम उपभोक्ता तथा जिल्लाबासीसमक्ष ुसहयोगको अपेक्षा गरेको उनको भनाई थियो ।


पदभार ग्रहण गरेलगत्तै नवनियुक्त अध्यक्ष बस्नेत उद्योगको प्लाण्ट, ढुंगा खानी र रातो माटोको खानीक्षेत्रको निरीक्षणमा निस्केका छन् । बिहीबार पनि अध्यक्ष बस्नेत र जिएम न्यौपाने चौदण्डीगढी नगरपालिकामा रहेको रातो माटोको खानीक्षेत्रको निरीक्षणमा निस्केको अर्थ तथा प्रशासन महाशाखा प्रमुख कमल पौडेलले बताए । पौडेलका अनुसार निरीक्षणपछि बस्नतेले शुक्रबार र शनिबार सञ्चालक समितिको बैठक राख्ने कार्यतालिका तय भएको छ ।