उदयपुर ट्राफिकको राजश्व डेढकरोड बढी  

२0७९ श्रावण २७ शुक्रबार
उदयपुर ट्राफिकको राजश्व डेढकरोड बढी  

उदयपुर, साउन २७

सवारी साधनको नियमन निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालयले उदयपुृरमा गत आर्थिकवर्ष डेढ करोड बढी राजश्व संकलन गरेको छ । ०७८ साउनदेखि ०७९ असारसम्म बिभिन्न किसिमका २३ हजार ६ सय ५० वटा सवारी साधनमाथि कारबाही र नियमन गर्दा १ करोड ५२ लाख १८ हजार ५ सय रुपैंया राजश्व संकलन भएको हो । 


सो आर्थिकवर्ष २४ वटा स्काभेटर र जेसिबी, ३ हजार २ सय ८० ट्रक, ९ सय ९३ टिपर, १ हजार १५ बस, ५ हजार ३ सय ४७ कार–जिप–भेनलाई कारबाही गरेको ट्राफिक हवल्दार शम्भु थापाले बताए । ट्याक्टर १ हजार ७ सय ४८ वटा, मोटरसाईकल ९ हजार २ सय ३६ र अटो, टेम्पो तथा सिटी २ हजार ७ वटा कारबाहीमा परेका छन् । 


सबभन्दा बढी राजश्व मोटरसाईकल कारबाहीबाट संकलन भएको छ भने दोस्रो ठूलो राजश्व हिस्सा कार–जिप–भेनबाट उठेको थापाले बताए । वर्षदिनमा ९ हजार २ सय ३६ वटा मोटरसाईकलमाथि कारबाही हुँदा ५८ लाख ७० हजार उठेको छ भने ५ हजार ३ सय ४७ कार–जिप–भेनमाथिको कारबाहीबाट ३४ लाख १४ हजार सकलन भएको छ । त्यस्तै तेस्रो धेरै रकम ट्रकमाथिको कारबाहीबाट संकलन भएको छ । ३ हजार २ सय ८० ट्रकमाथि कारबाही गर्दा २३ लाख १२ हजार ५ सय उठाएको ट्राफिकले १ हजार ७ सय ४८ ट्याक्टरमाथि कारबाही गरी ११ लाख ४४ हजार संकलन गरेको छ । 


२ हजार ७ वटा अटो, सिटी र टेम्पोमाथि कारबाही गरेर ११ लाख १७ हजार उठाएको ट्राफिकले ९ सय ९३ टिपरमाथि कारबाहीबाट ६ लाख ७१ हजार उठाएको छ । १ हजार १५ बसमाथि कारबाही गर्दा ६ लाख ७० हजार संकलन भएको छ भने २८ वटा स्काभेटर, जेसिबीलाई कारबाही गर्दा ३० हजार रकम उठेको ट्राफिकले जनाएको छ । 


अर्का हवल्दार भुवन राईले जिल्ला सदरमुकामदेखि बिभिन्न स्थानीयतहका बजारहरुमा ट्राफिक बिट राखेर सवारी नियमन गर्ने गरिएको बताए । सदरमुकामका गाईघाट, जलजले, चुहाडे, मुर्कुची, साउनेलगायतमा बीट राखेर सवारी नियमन गर्ने गरिएको छ भने बेलका नगरपालिका केन्द्र रामपुर, चतारामा बीट राखिएको राईले बताए । त्यसैगरी चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार, बसाहा तथा कटारी नगरपालिकाको कटारी बजार, बेलसोत, बेतिनी र घुर्मीमासमेत बिट राखेर सवारी नियमन गर्ने गरिएको हवल्दार राईले बतछाए । 


जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ट नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले सवारी नियम उल्लंघन गर्ने सबैखाले साधनमाथि कारबाही गर्ने गरिएको बताए । दुर्घटना हुन नदिन र भए पनि कम जोखिम होस् भनेर ट्राफिकले जिल्लाभरी नियमित चेकजाँच कार्य गर्दा सो अंकको राजश्व संकलन भएको दियालीले बताए । वसई उनका अनुसार पछिल्लो समय गाईघाटमा जनघनत्व र सवारी साधनको संख्या बृद्धिले ट्राफिक नियम उल्लंघनका घट्ना बढ्दो छ । 


दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई पक्राउ गरी राजश्वस्वरुप जरिवाना तिराउने गरेको वसई दियालीले बताएका छन् । उनले गाईघाट, जलजलेलगायत त्रियुगा नगरपालिकाका बिभिन्न वडामा बिट राखेर नियमित चेकजाँच गर्ने गरिएको बताए ।