१०९ परिवारका ४८७ कोसीपीडित विद्यालयमा 

२0७९ श्रावण २४ मंगलवार
१०९ परिवारका ४८७ कोसीपीडित विद्यालयमा 

उदयपुर, साउन २४

अबिरल वर्षाको बाढीले सातादिनअघि बेलका नगरपालिका ८ स्थित सप्तकोसीको बाँध फुटेर बस्तीतर्फ पसेपछि बिस्थापित पीडित परिवार विद्यालय भवन र चौरहरुमा सरण लिएर बस्न बाध्य छन् । बाढीले बेलका ८ लाउरीखोँचस्थित डुम्रीबोटेको पुरानो बाँध भत्काएर गाउँ पसेपछि बिस्थापित भएकामध्ये १ सय ९ घरधुरी परिवारलाई सरण लिनु परेको हो । 


अघिल्लो दिन घट्नास्थलको अनुगमन गरी फर्केको जिल्लास्थित बिपत व्यवस्थापन समितिसहितको सरोकारवाला टोलीले पीडितहरुलाई बेलका ३ स्थित कोसी जनता मावि, ३ कै सातपत्रेस्थित आधारभूत विद्यालय, सोही वडा कन्तेचौरीस्थित खसीबाख्रा संकलन केन्द्र र २ नं। बान्डाँडास्थित रेडक्रस भवनमा राखिएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र्र फुयालका अनुसार कोसी मावि माविमा ५४ परिवारका ३९ बालबालिका र १ सय ३७ महिलासहित २ सय ६० जनालाई राखिएको बताए । त्यहाँ ६० वर्षमाथिका ८५ जना छन् भने सुत्केरी ५, गर्भवति ३ र अपाङ्गता भएका ४ जना रहेको फुयालले बताएका छन् ।  


त्यसैगरी सातपत्रेस्थित आधारभूत विद्यालयमा १८ घरका ३५ महिलासहित ६७ जना रहेका छन् । एसपी फुयालका अनुसार त्यहाँ सुत्केरी १, बृद्धबृद्धा ४ र बालबालिका ७ जना रहेका थिए । कन्तेचौरीस्थित खसी–बाख्रा संकलन केन्द्रमा २६ महिला, ४५ पुरुष, १३ बालबालिका, १२ बृद्धबृद्धा, गर्भवति तथा सुत्केरी १–१ जना र अपाङ्गता भएका २ जना रहेको फुयालले बताए । विद्यालयमा राखिएका पीडितहरु सबैलाई अव खसी–बाख्रा संकलन केन्द्रमै स्थानान्तरण गरिनेछ । बान्डाँडास्थित रेडक्रस भवनमा ११ घरधुरी परिवारका २७ महिलासहित ५० जनालाई आश्रय दिइएको छ । 


एसपी फुयालले बाँध फुटेर बस्तीतर्फ बाढी पसेपछि बिस्थापित बेलकाका २, ३, ८ र ९ नं। का गरी १ सय ९ परिवारका २ सय ४४ महिला, २ सय ४३ पुरुष गरी ४ सय ८७ जना हाल अस्थायी सेल्टरमा रहेको बताए । उनीहरुमध्ये सुत्केरी ९ जना, गर्भवति ५, अपाङ्ता ९, किशोरकिशोरी १ सय २७ जना, ५ वर्षमुनिका बालबालिका ६१ र ६० वर्षमाथिका १ सय ४ जना रहेको उनले बताए । 


कतिपय बिस्थापितहरु भने पानी घट्दै गएपछि घर, अन्नपात र चौपाया गाईबस्तु बचाउन भनेर घर फर्किसकेका छन् । पानी घट्दै गए पनि मंगलबार दिउँसो २ः०० बजेसम्म कोसीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार ८ सय ७२ क्युसेक रहेको कोसी व्यारेज प्रमुख अमित यादवलाई उद्धृत गर्दै एसपी फुयालले बताए । उनका अनुसार ५६ मध्ये २२ वटा ढोका खुल्ला राखेको पनि व्यारेजले जनाएको छ । 


बेलका नगरप्रमुख अशोक कार्कीले तत्काललाई कोसीपीडितहरुलाई सुरक्षितस्थानमा राखेर खाने बस्ने र औषधि उपचारको व्यवस्था मिलाइएको बताए । उनले विद्यालयमा राखिएका पीडितहरुलाई अव स्कुल चल्न थालेकाले कन्तेचौरीस्थित ‘खसी–बाख्रा संकलन केन्द्र’मा स्थानान्तरण गर्न थालिएको बताए । कार्कीले बालबालिकाको शैक्षिक अधिकार हनन् हुन नदिन स्कुल चलाउनु पर्ने र स्कुल चलाउन कोठा खाली गर्नुपर्ने भएकाले पीडितहरुलाई कन्तेचौरीमा निर्माणाधीन भवनमा सार्न थालेको बताएए ।