शान्ति सुरक्षा कायम गर्न सबैपक्ष मिलौँ !

२0७९ श्रावण २४ मंगलवार
शान्ति सुरक्षा कायम गर्न सबैपक्ष मिलौँ !

उदयपुर, साउन २४

उदयपुरका नयाँ प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले समाजमा शान्ति सुरक्षा कायम गर्न सबैपक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ३ दिनअघि मात्र उदयपुरको सुरक्षा कमाण्ड समाल्न आईपुगेका फुयालले मंगलबार पत्रकारहरुसँग सात्क्षात्कार गर्दै समाजमा अमनचयन कायम गर्न, शान्ति सुरक्षा स्थापना गर्न सरोकारवाला सबै पक्षहरु एकमत हुनुपर्ने बताए । 

 

उदयपुरमा लागूऔषध, आत्महत्या, चोरी, कुटपिट र हत्याजस्ता बिबिध आपराधिक घट्नाहरु हुने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सर्वपक्षीय प्रयासको खाँचो औँल्याए । यसअघि उदयपुृरकै पश्चिमी भेग इलाका प्रहरी कार्यालय कटारीको कमाण्ड समाल्दाको अनुभव सुनाउँदै उनले गाँजा खेती र बिभिन्न खाले लागूऔषधको उत्पादन, प्रयोग र कारोबार मौलाएको उदयपुृरलाई सक्दो छिटो त्यसबाट मुक्त गर्न र नसके कम गर्न आफु प्रयासरत रहने प्रतिबद्धता जनाए । 


‘समाजमा शान्ति स्थापना गर्न, कलह र झैझगडा अन्त्य गर्न, अमन चयन कायम गर्न प्रहरी एक्लैले सक्दैन’ पत्रकारहरुसँग उनको आग्रह थियो ‘त्यसका लागि सबैपक्षको उत्तिकै सहयोग चाहिन्छ । बर्दीवाल प्रहरीलाई  बिनाबर्दीका सबैखाले सरकारवाला जनताको पनि उत्तिकै साझेदारी आवश्यक हुन्छ, त्यसैले तपाईहरु सबैको साथ चाहिन्छ ।’ 


खासगरी लागूऔषध निकै जटिल विषय भएको भन्दै उदयपृुरमा पनि यसको जालो उत्तिकै मौलाएको पाइएको उनको ठहर थियो । पछिल्लो समय आपराधिक गतिबिधि बढाउन लागूऔषध र सामाजिक सञ्जाल सबभन्दा बढी कारक रहेको उनको भनाई थियो । चोरी चकारी र झैझगडाको मुख्य कारण पनि लागूऔषध र सामाजिक सञ्जाल नै भएको उनको बुझाई छ । 


‘लागूऔषध समाजको सबभन्दा ठूलो बिकृति निम्त्याउने कारक बन्न पुगेको छ । चोरी चकारी र झैझगडाको उत्पन्न हुनुमा यही मुख्य जिम्मेबार छ’ एसपी फुयालले भने ‘त्यसैगरी समाज जोड्न भनेर बनेको सामाजिक सञ्जालले दिनदिनै समाज तोड्दै गएको छ ।’ उनले लागूऔषध कम गर्न अभिभावक र समाज जिम्मेबार हुने भए पनि सामाजिक सञ्जालको अपराध घटाउन भने स्वयं जिम्मेबार हुनुपर्ने बताए । 


आफुले समृद्ध र शान्त उदयपुर बनाउने अभिलासा लिएर आएको भन्दै एसपी फुयालले त्यसका लागि तमाम जिल्लाबासीको साथ र सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा पत्रकारहरुले घट्ना घटेलगत्तै सूचना पाउनुपर्ने, पत्रकार र प्रहरीबीचको सम्बन्ध सुमधुर र एकार्काप्रतिको सहयोगमैत्री हुनुपर्ने,शानित सुरक्षा कायम गर्न सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । 

 

कार्यक्रममा अग्रज पत्रकार तथा पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्री काफ्ले,  अध्यक्ष भरत खड्का, पूर्व अध्यक्षहरु महेश्वर चामलिङ र इश्वर तामाङ, उपाध्यक्ष गंगा राई, पूर्व प्रदेश सचिव हरिकुमार राई, पूर्व उपाध्यक्ष भोटराज राईलगायत सञ्चारकर्मीहरु तथा प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यसमेतको उपस्थिति थियो ।