उदयपुरमा अर्को पार्टी थपियो, काँग्रेस (बिपी) संयोजकमा प्रशान्त

२0७९ श्रावण २३ सोमबार
उदयपुरमा अर्को पार्टी थपियो, काँग्रेस (बिपी) संयोजकमा प्रशान्त

उदयपुर, साउन २३

उदयपुृरमा अर्को राजनीतिक दल थपिएको छ । नेपाली काँग्रेसका नेता प्रशान्त राई नेपाली काँग्रेस (बिपी) को जिल्ला संयोजक चयन भएका छन् । 

 

 

००७ सालका क्रान्ति योद्धा रहेका काँग्रेसका पुराना नेता अशोकचन्द्र राईका छोरा प्रशान्तलाई आईतबार काँग्रेस (बिपी) को उदयपुर संयोजकमा मनोनयन गरिएको हो । काँग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले केन्द्रीय कार्यालय काठमाडौंमा राईलाई बिपी काँग्रेसको उदयपुर संयोजक मनोनयन गरेका हुन् । 


शेरचनले दिएको पत्रमा ‘नेपाली काँग्रेस (बिपी) को विधान २०७४ (संशोधित) ०७८ को धारा १० बमोजिम जिल्ला संयोजक मनोनयन गरिएको’ भन्ने उल्लेख छ । सो पत्रमा उक्त विधानको धारा १०, उपधारा २ को खण्ड (१) बमोजिम जिल्ला समिति गठन गरेर प्रदेश र केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि भनिएको छ । 


लामो समयदेखि पार्टीप्रति असन्तुष्ट रहेका राई गएको स्थानीयतह निर्वाचनमा चौदण्डीगढी नगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर मेयरमा लडेका थिए । काँग्रेसका आधिकारिक उम्मेदवार खगेन्द्र राईबिरुद्ध बागी उठेका उनी हाँस चुनाव चिन्हबाट चुनावमा पराजित भएका थिए । चुनावमा पार्टी हारेपछि उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै खुसीसमेत व्यक्त गरेका थिए ।


आफ्ना बाउबाजे राणा शासनबिरुद्ध सशस्त्र आन्दोलन गरेर नेपालमा प्रजातन्त्र ल्याएको र त्यसैको बिरासतमा हुर्केको काँग्रेसले क्रान्ति योद्धाकै सन्तानलाई बेवास्ता गरेको भन्दै उनी चरम असन्तुष्ट थिए । आफुलाई पार्टीले कुनै स्थान नदिएको भन्दै उनले पार्टी निर्णयबिरुद्ध मेयरमा उम्मेदवारी दिएका थिए । 


काँग्रेसनिकट आदिवासी जनजाति महासंघको केन्द्रीय महामन्त्रीसमेत रहेका राई बर्तमान परराष्ट्रमन्त्री तथा उदयपुर निर्वाचन क्षेत्र १ का सांसद डा. नारायण खड्काप्रति चर्को असहमत थिए । पछिल्लो समय उनी जिल्ला पार्टी सभापति हिमाल कार्की र प्रदेश पार्टी सभापति खगेन्द्र राईसँग पनि असन्तुष्ट थिए । 


चौदण्डीगढी ३ बसाहाका राई निकट नेता कार्यकर्ताहरु पार्टीले पुरै छेउ लगाएपछि उनी बिपी काँग्रेसमा जान बाध्य भएको बताउँछन् । क्रान्ति योद्धाको बिरासत बोकेका नेतालाई पार्टीले जहिल्यै किनाराको किनारा लगापछि बाध्य भएर उनी बिपी काँग्रेसमा लाग्नुपरेको उनीनिकट नेता कार्यकर्ताहरुको भनाई छ । 


संयोजक राईले जिल्ला फर्केर काँग्रेस (बिपी)को जिल्ला समिति छिट्टै गठन गर्ने बताएका छन् । केहीदिनभित्रै सदरमुकाम फर्केर जिल्ला कार्यसमिति गठन गरेर आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि संगठन निर्माण गर्दै तयारी थाल्ने उनले बताए । मंसिर ४ को प्रदेश तथा संघीय चुनावमा देशव्यापी उम्मेदवार उठाउने पार्टीको केन्द्रीय नीति अनुसार उदयपुृरमा पनि उम्मेदवार उठाउने उनले बताएका छन् ।