लिमचुङबुङमा चट्याङले आधादर्जन चौपाया मरे

२0७९ श्रावण २२ आईतवार
लिमचुङबुङमा चट्याङले आधादर्जन चौपाया मरे

उदयपुर, साउन २२

जिल्लाको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ३ बाराहा निसन्टारमा चट्याङको झट्काले एक स्थानीयका झण्डै आधादर्जन चौपाया (गाईबस्तु) मरेका छन् । शनिबार राति ९ः३० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङको झट्काले स्थानीय मदनबहादुर कार्कीका गाई गोरुको ज्यान लिएको हो । 


चट्याङले गोठमा बाँधेर राखिएका २ माउ गाई र ३ वटा गोरु ठाउँका ठाउँ मरेको पीडित कार्कीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाले जनाएको छ । वडाध्यक्ष गुरुमणि कुमाईका अनुसार ६ वटा गाई गोरु बाँधेको गोठमा चट्याङ पर्दा अन्य मरेको एउटा भने बाँचेको छ । राति चट्याङ परेसँगै गोरु कराएको आवाज सुनेपछि घरधनी गएर हेर्दा ५ वटा मरिरहेको पाएपछि वडाध्यक्षलाई खवर गरेका थिए ।


वडाध्यक्ष कुमाईसहित प्रहरी टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का तयार गरी मृत चौपायाको दफन गरिएको इप्रकाले जनाएको छ । प्रहरीका अनुसार ५ वटा गाई गोरु मर्दा कार्कीलाई कम्तीमा २ लाख बराबरको घाटा भएको प्रारम्भिक अनुमान गरिएको छ ।