सप्तकोसी बाँध फुटेर बेलकामा बेहाल

२0७९ श्रावण १८ बुधबार
सप्तकोसी बाँध फुटेर बेलकामा बेहाल

बेलका, साउन १८

३५ वर्षअघिको बाँध फुटेर गाउँ पसेपछिउदयपुरको बेलका नगरपालिकामा स्थानीयको बेहाल भएको छ । बेलका नगरपालिका ८ डुम्रिबोटेस्थित लाउरी खोलामा २०४४ सालमा निर्मित बाँध मंगलबार बिहानको बाढीले भत्काएर गाउँ पसेपछि हजारौं स्थानीय जोखिममा परेका हुन् ।

 

निरनमतर वर्षाले आएको बाढी गाउँ पस्दै डुम्रोबोटे, सिसौलीघाट हुदै ३ नं वडातर्फ पस्न थालेपछि ४ हजार बढी घरधुरी परिवार डुवान र कटानको जोखिममा परेका छन् । बाढी प्रभावितहरुलाई नगरपालिका, सशस्त्र, जनपध र विपत व्यवस्थापन टोलीले विहानदेखि नै उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याउने काम भईरहेको छ । बेलका ८ का वडाध्यक्ष जयकुमार राईले सिसौलीघाटका डेढसय घरधुरी परिवारलाई सुरक्षित स्थानमा लगेर राखिएको बताए । 

 

त्यसैगरी ३ नं वडाध्यक्ष टंकप्रसाद आचार्यले वडाका ७ वटा टोल विकास संस्थामा आबद्ध ९ सय घरधुरीका ३ हजार ७ सय जनालाई सुरक्षित स्थानमा सारिएको बताए । उनीहरुलाई उच्च ठाउँ, विद्यालय, खाली घरहरुमा राखिएको आचार्यले बताए ।

 

नगरप्रमुख अशोक कार्कीले कोसीले नगरबासीलाई कहर दिएको बताए । गएको असारदेखि नै पुर्व तयारी गरे पनि बाँध नै फुटाएकाले नगरवासीलाई आहत बनाएको उनले बताए । हाललाई जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारेर जनधनको क्षति हुनबाट रोक्ने काम भईरहेको बताए ।