त्रियुगा नगरपालिकामा नयाँ 'हाकिम', करार कर्मचारीको म्याद थपिएला ?

२0७९ श्रावण १३ शुक्रबार
त्रियुगा नगरपालिकामा नयाँ 'हाकिम', करार कर्मचारीको म्याद थपिएला ?

उदयपुर, साउन १३

करार कर्मचारीलाई म्याद नथपेर लफडा भईरहेको त्रियुगा नगरपालिकामा मानबहादुर वन नयाँ प्रमुख प्रप्रशासकीय अधिकृत भएर आएका छन् । करार कर्मचाारीको म्याद नथप्ने निर्णयबिरुद्धआन्दोलन सुरु भएसँगै यसअघिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले अन्यत्र सरुवा लिएपछि वन नयाँ हाकिम भएर आएका हुन् । 


वनलाई शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राईलगायत वडाध्यक्षहरुले स्वागत गरे । उनको स्वागतमा निमित्त प्रममख प्रशासकीय अधिकृत किरण कार्की, नेपाल निजामति कर्मचारी युनियन उदयपुरकी अध्यक्ष भगवति खतिवडालगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । 


नगरप्रमखस्तरीय निर्णयलाई हवाला दिदै साउन १ गतेदेखि करारमा कार्यरत ५९ कर्मचारीको म्याद नथप्ने सूचना प्रकाशित गरेकै भोलिपल्टदेखि ढकाल बिदा लिएर काठमाडौं गएका थिए । उनी त्रियुगामा बस्न नचाहेको र अन्तै सरुवा लिने भन्दै गरेको हल्लाले वास्तविक मोड लिँदा वन सो ठाउँमा आएका हुन् । 


यसअघि खोटाङको बाराहापोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका वन खानेपानी डिभिजन कार्यालयमा खरिदार (राजपत्र अनंकित दवीतीय श्रेणी)बाट निजामति जागीरमा प्रवेश गरेका हुन् । खानेपानीबाट तत्कालीन 'जिल्ला प्राविधिक कार्यालय'मा सरुवा भएका उनी नायव सुब्बामा बढुवा भए । स्थानीयतह पुनरर्संरचनासँगै तत्कालीन प्राविधिक कार्यालय 'पूर्वाधार विकास कार्यालय"मा रुपान्तरण भयो । उनी अधिकृतस्तर छैठौँ तहमा बढुवा भएर काम गर्दैगर्दा केही समयपछि नै अधिकृतस्तर सातौँ (राजपत्रांकित तृतीय श्रेणी) मा बढुवा भएपछि बाराहापोखरीको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । 


हाल वन नेपाली काँग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्षसमेत हुन् । खरिदार हुँदै युनियनको जिल्ला सचिव हुदै अध्यक्ष भईसकेका उनी कर्मचारी हकहितको पक्षमा वकालत गर्दै आएका छन् । नगरपालिकाले ५९ कर्मचारीको म्याद नथपेको विषयमा पनि उनले करारको पक्षमा आवाज उठाउँदै विज्ञप्ती प्रकाशित गरेर ऐक्यबद्धता जनाएका थिए । 


वनको आगमनले 'पँजनी'मा परेका ५९ कर्मचारीमा म्याद थपिने आसा पलाएको छ । केही कर्मचारीले उनको आगमनले आफुहरुको म्याद थपिने आसा पलाएको प्रतिक्रिया दिएका छन् । कर्मचारी ट्रेड युनियनमा लामो समय काम गरेका नेता नै हाकिम भएकाले अव आफुहरुको जागीर बँच्छ भन्ने आस पलाएकोे उनीहरुले बताएका छन् ।