गाईघाट अस्पताललाई प्रदेश सरकारको एम्बुलेन्स्

२0७९ श्रावण १0 मंगलवार
गाईघाट अस्पताललाई प्रदेश सरकारको एम्बुलेन्स्

उदयपुर 

जिल्ला अस्पताल उदयपुरले मंगलबार प्रदेश सरकारबाट १ थान एम्बुलेन्स प्राप्त गरेको छ । ५० शैय्याको सरकारी अस्पतालसँग अहिलेसम्म नभएको एम्बुलेनसको समस्या प्रदेश सरकारले दिएपछि समाधान भएको छ । 


अहिलेसम्म अस्प्तालको १ थान एम्बुलेन्ससम्म नभएको भन्दै माग गरे अनुसार प्राप्त भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले बताए । उनका अनुसार मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमका बीच झालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । 

 

मेसु डा.झाका अनुसार अत्याधुनिक सुविधासहितको एम्बुलेन्स जिल्लामा भित्रिएको यो पहिलो पटक हो । साधारण मूल्य अनुसार ढेढ करोडभन्दा माथि पर्ने एम्बुलेन्स नेपाल सरकारले भन्सार शूल्क नलिएपछि ६० लाख हाराहारीमा खरिद गरेर प्रदेश सरकारले दिएको बताइएको छ । 


अस्पतालको आफ्नै एम्बुलेन्स नहुँदा सामान्यदेखि जटिल बिरामीलाई पनि नीजि एम्बुलेन्समार्फत चर्को मूल्य तिरेर बिरामी ओसारपसार गर्नुपर्ने बाध्यता थियो । प्राप्त एम्बुलेन्स मेसु डा. झा र प्रशासन प्रमुख बृख खत्रीले बुझेर मंगलबार नै गाईघाट ल्याएको बताएका छन् । 


मुख्यमन्त्री राईले प्रदेश सरकारको तर्फबाट उदयपुर अस्पतालसँगै अन्य ३ अस्पताललाई एम्बुलेन्स दिएका छन् । जस अनुसार सुनसरी जिल्ला अस्पताल इनरुवा, मेची अस्पताल झापा र झापाकै मंगलबारेस्थित ट्रमा सेन्टरलाई १–१ थान एम्बुलेन्स मुख्यमत्री राईले हस्तान्तरण गरेका छन् ।