त्रियुगामा नयाँ ट्वीस्टः बाँकी करारलाई पनि हाजीर गर्न रोक

२0७९ श्रावण ८ आईतवार
त्रियुगामा नयाँ ट्वीस्टः बाँकी करारलाई पनि हाजीर गर्न रोक

उदयपुर, साउन ८

झण्डै ६ दर्जन करारका कर्मचारीलाई साउन १ गतेदेखि निस्कासन गरेको त्रयुगा नगरपालिकाले आईतबारदेखि नयाँ ट्वीस्ट फ्याँकेको छ । करार अवधि नथप्ने भन्दै ५९ करारको नामलिस्ट टाँसेपछि सातादिनयता निस्कासित कर्मचारीहरु आन्दोलित भईरहेकै बेला त्रियुगाले अन्य करारलाई पनि हाजीर गर्न रोक लगाएको हो । 


‘आजदेखि अन्य करारलाई पनि हाजीर नगराउने भनि आदेश आएको छ ’रे, त्यसैले करार कर्मचारीहरु आज हाजीर नगरी फर्केछन्’ निस्कासनमा परेदेखि नगरपालिका गेटमै रहेर आन्दोलित कर्मचारीबीच गाँईगुँई चलेको सुनियो । यथार्थ पत्ता लगाउन हामीले केही करार र केही स्थायी कर्मचारीलाई भेटेर यसबारे प्रष्ट्याउन प्रयास ग¥यौँ । हल्ला सुनेको तर, यथार्थ जानकारी नभएको जवाफ पाएपछि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल भेट्न कार्यालय पुग्यौँ । तर, उनी शुक्रबारदेखि नै बिदामा रहेको जानकारी पाएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कार्कीसँग सम्पर्क ग¥यौँ ।


कार्यालय प्रमुखको जिम्मेबारी पाएका कार्कीले करार कर्मचारीलाई हाजीर नगराउन आदेश आएको स्वीकारे । लिखित पत्र प्रशासन कार्यालयमा रहेको भन्दै सबै करार कर्मचारीलाई हाजीर नगराउन आदेश आएको उनले बताए । पत्र नगरप्रमुखले कि प्रमुख प्रशासकीय अधिकृतले लेखेको भन्ने प्रष्ट हुन आग्रह गर्दा प्रशासन शाखामा गएर बुझ्न कार्कीले आग्रह गरे । 


तर, प्रशासन प्रमुख शाखा अधिकृत शिवकुमारी राउतले पत्र आएको आफुलाई जानकारी नभएको बताईन् । उनले प्रशासन शाखाका सहायक उमेश घिमिरेसँग भएको हुनसक्ने जनाएपछि उनीसँग हामीले सम्पर्क ग¥यौँ । तर, घिमिरेले पनि पत्र आएको आपुफलाई जानकारी नभएको बताउँदै उनै शाखा अधिकृत राउतसँग सम्पर्क गर्न आग्रह गरे । 


पुनः निमित्त प्रमुख कार्कीलाई सम्पर्क गर्दा ‘पत्र प्रशासन शाखामै रहेको भन्ने सुनेको तर, आफुले नदेखेको’ भन्दै टारे । तर, उनले करार कर्मचारीलाई हाजीर नगराउने आदेश भने आएको स्पष्ट पारे । ‘पत्र मकहाँ आएको छैन, त्यतै कतै होला तर, हाजीर नगराउनू भन्ने आदेश आएको भने सही हो’ कार्कीले भने ‘मलाई निमित्त दिइएको छ, करार कर्मचारीलाई हाजीर नगराउन भनिएको छ ।’ 


बिस्तृत कुरा प्रमुख प्रशासकीय अधिकृत ढकाल र मेयर बसन्त बस्नेतबाटै थहा हुने उनले बताए । ढकाल आफु नआएसम्म निमित्तको जिम्मेबारी लिएर कामकाज गर्नू भन्ने पत्र दिएर काठमाडौँ गएको तर, कहिले आउने भन्ने जानकारी नभएको पनि कार्कीले बताए । यसबारे थप जानकारी लिन सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृत ढकालसँग सम्पर्क हुन सकेन । 


नगरपालिकाले हाजीर गर्न नदिएपछि आईतबार कार्यालय पुगेका करार कर्मचारीहरु हाजीरी जनाउन नपाई घर फर्केका छन् । उनीहरुले आन्दोलन गर्ने या वार्ताको माध्याम अपनाउने भन्ने विषयमा तत्काल केही प्रतिक्रिया दिएका छैनन् । त्रियुगामा कार्यरत ३ सय ८६ मध्ये ७६ जना स्थायी रहेको र त्यसबाहेकका बाँकी सबै कर्मचारी करार रहेको नगरपालिकाले जनाएको छ । 


मेयर बसन्त बस्नेतले अघिल्लो दिन मात्र कोही पनि करार कर्मचारीको सेवा अवधि नथप्ने जनाउ दिएका थिए । सुरु चरणमा म्याद नथप्नेमा ५९ जनाको नामलिस्ट टाँसिएको भए पनि अन्य करारको पनि कसैको म्याद आफुले नथपेको बताएका थिए । बस्नेतले सबै करारको म्याद नथपेपछि स्वतः निस्कासनमा पर्ने हुनाले त्यसपछि एउटा अध्ययन समिति गठन गरेर आवश्यक कर्मचारी भर्ना गर्न विज्ञापन खोल्ने बताएका थिए ।