करार निस्कासन प्रकरणः अदालतले कारण माग्यो

२0७९ श्रावण ६ शुक्रबार
करार निस्कासन प्रकरणः अदालतले कारण माग्यो

उदयपुर

साउन १ गतेदेखि म्याद नथपिएपछि निस्कासनमा परेका त्रियुगा नगरपालिकका ५९ करार कर्मचारीले आन्दोलन गरिरहेकै बेला सो विषयले अदालतमा प्रवेश पाएको छ । उच्च अदालत बिराटनगरमा अघिल्लो दिन परेको मुद्धाउपर शुक्रबार पहिलो सुनुवाई भएर ‘कारण देखाऊ आदेश’समेत जारी भएको छ । 

 


अदालतले त्रियुगा नगरपालिकालाई १५ दिनभित्र कारणसहित उपस्थित हुन पत्राचार गरेको नगरप्रमुख बसन्त बस्नेतले बताए । मेयर बस्नेतका अनुसार प्राप्त पत्रमा पक्ष धनबहादुर मगरले दिएको ‘उत्प्रेषण परमादेश’ मुद्धाको शुक्रबार भएको पहिलो सुनुवाईमा पक्षका तर्फबाट अधिवक्ता यमबहादुर मगरले बहस गरेको भन्दै ‘माग बमोजिम आदेश गर्नु पर्ने नपर्ने, नपर्ने भए नपर्नाको कारण लिखित प्रमाणसमेत साथै राखी बाटाको म्यादबाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश निइएको’ उल्लेख छ । 


इजालस नं. ५ का एक न्यायाधीशको इजालसबाट न्यायाधीश राजनप्रसाद भट्टराईले हेरेको उक्त मुद्धा त्रियुगा नगरपालिकाविरुद्ध परेको मेयर बस्नेतले बताए । उनले मुद्धा परेर कारण देखाऊ आदेशसमेत आईसकेकाले आदेश अनुसार आफु त्यसको जवाफ दिन तोकिएकै समयभित्र अदालत पुग्ने बताए । 


करार कर्मचारी निस्कासन विषयमा मुद्धा परेर सुनुवाईसमेत भईसकेको विषयले शुक्रबार दिउसै चर्चा पाएको थियो । तर, निवेदक भनिएका धनबहादुर मगरले भने सो मुद्धा आफुले नदिएको बताउदै अन्य कसैले गरेको हुनसक्ने बताएका छन् । धर्ना बसेका आन्दोलनकारी र आसपास भेला भएका जनप्रतिनिधि, पत्रकार, कर्मचारी र सर्वसाधारणमा कर्मचारी निस्कासन मुद्धा अदालतमा कसले दियो भन्ने कुरा पुष्टि गर्न गाह्रो भएको थियो । पक्ष भनिएका मगरसँग स्वयं आन्दोलनकारीले फोन सम्पर्क गर्दा आफुबाट सो काम नभएको र गर्न वारेस पनि नखटाएको जवाफ पाएको नगर कर्मचारी राजन धमलाले बताए । 


धमलाका अनुसार मुद्धा लगाएकोबारे सोधखोज गर्दा उनी आफनै काममा व्यस्त रहेको, उच्च अदालत जाँदै नगएको र मुद्धा पनि नदिएको जवाफ आएकाले उनको नाममा कसैले मुद्धा दिएको हो या धनबहादुर मगर नाम गरेका अर्कै व्यक्ति हो भन्नेबारे अन्यौल पैदा भएको छ । नगरपालिकाबिरुद्ध परेको मुद्धा कर्मचारी निस्कासनको विषयभन्दा फरक हुनसक्ने अनुमान पनि गरिएको छ । यसबारे जानकारी लिन उच्च अदालतमा सम्पर्क गर्न चाहे पनि शुक्रबार चाँडै बिदा हुने भएकाले बुझ्न नसकिएको न्यायिक समितिका कानुन विज्ञ अधिवक्ता कृपाराम चौधरीले बताए । 


मेयर बस्नेतले ५९ कर्मचारीको म्याद नथप्ने निर्णययविरुद्ध साउन १ गतेदेखि नै कर्मचारी आन्दोलित भएपछि त्रियुगा नगरपालिकाको कामकाज सातादिनयता ठप्प छ । साउन १ गते निस्कासनको सूचना प्रकाशित भएकै दिन नगरप्रमुख बसन्त बस्नेतलाई उनीहरुले ज्ञापनपत्र बुझाउँदै निर्णय पुनाराबलोकन गर्न आग्रह गरेका थिए । निस्कासन गर्नुको स्पष्ट कारण माग्दै आन्दोलित कर्मचारीको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलन झन् लम्व्याएका उनीरुले दोस्रो दिन उपप्रमुख महेश्वरी राई र बहुमत वडाध्यक्षसहित कार्यपालिका सदस्यलाई सोही बेहोराको ज्ञापनपत्र बुझाए । 


उपप्रमुख राईले तत्काल बहुमत कार्यपालिका सदस्यसहितको बैठक बोलाएर कर्मचारीहरुलाई सँगै राखेर चलाएको छलफलमा मेयर बस्नेतलाई कार्यपालिका बैठक बोलाउन लगाएर समस्या सुल्झाउने आश्वासन दिएकी थिईन् । उपमेयरको आश्वासनपछि आंशिक कार्यालय खोलेर सेवा प्रवाह गर्न दिए पनि भोलिपल्ट बस्ने भनिएको कार्यपालिका बैठक मेयर बस्नेतले नराखेपछि उनीहरु धर्ना बस्न थालेका हुन् । 


धर्नाका कारण ३ दिनदेखि कार्यालय कर्मचारी र जनप्रतिनिधि कार्यालय छिर्न नपाएपछि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प हुन पुगेको हो । आन्दोलनकारीले नगर परिसर प्रवेशद्वार र कार्यालय प्रवेशद्वार (कैची गेट) दुवैमा ताला लगाएका छन् । विहान १० बजेदेखि ४ बजेसम्म धर्ना दिदै आएका कर्मचारी अव राति पनि धर्ना बस्ने मनस्थितिमा पुगेका छन् । दिनभर धर्ना बसे पनि राति कार्यालय पसेर काम गर्ने गरेको थाहा पाएपछि राति पनि काम गर्न नदिने गरी धर्ना बस्न लागेको उनीहरुले बताएका छन् ।