एसइइको परिणाम आउँदो १० गते

२0७९ श्रावण ५ बिहीबार
एसइइको परिणाम आउँदो १० गते

यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को परिणाम आउँदो १० गते सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो १० गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । 


एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक काम तीव्ररुपमा भइरहेको उनले बताए। नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरण रुजु गर्ने कार्य व्यवस्थित र कडाइका साथ गर्ने काम भईरहेको अध्यक्ष डा शर्माको भनाई छ । 


विगतमा नतिजा सार्वजनिक भएपछि कसैको जन्म मिति, कसैको अङ्क र कतै केही न केही गल्ती भेटिने गरेकाले पछि सच्याउन समस्या हुने गरेको भन्दै यसपटक त्यस्तो कमीकमजोरी केही नहोस् भनेर बरु ढिलै भए पनि व्यवस्थित तरिकाले गर्न लागिएको उनले बताए । 


विद्यार्थीले आफ्नो बिग्रेको विवरण सच्याउन बोर्ड धाउन नपरोस् भनेर यस पटक कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ । सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँचेर मात्र नतिजा सार्वजनिक गर्ने गरी तयारी बोर्डले गरेको छ। 


हरेक वर्ष असार अन्तिम साता नतिजा सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष स्थानीयतह निर्वाचनले गर्दा काम गर्न नभ्याएर केही दिन ढिला नतिजा निकाल्न लागिएको हो । बोर्डका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षक शिक्षिकासम्म निर्वाचनमा खट्नु्पर्दा उत्तर पुस्तिका परीक्षण केही ढिला भएर नतिजा सार्वजनिक गर्न पनि ढिलाइ भएको हो । 


बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्ममा नतिजा सार्वजनिक गर्ने बताए । उत्तरपुस्तिका जाँच्ने काम सम्पन्न भईसकेर सम्परीक्षण कार्यसमेत अन्तिम चरणमा पुगेको उनले बताए । अव कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम पनि सकिन लागेको उनको भनाई छ । 


बिगत दुईवर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनबाट एसईई नतिजा सार्वजनिक गरिएको थियो । तर, यसवर्ष भने बोर्डले भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। एसईई दिने देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी जम्मा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी नतिजाको पर्खाईमा छन् ।