त्रियुगामा कर्मचारीको धर्नाः नगरको कामकाज ठप्प

२0७९ श्रावण ३ मंगलवार
त्रियुगामा कर्मचारीको धर्नाः नगरको कामकाज ठप्प

उदयपुर

भर्खरै निस्कासित करार कर्मचारीको धर्नाका कारण त्रियुगा नगरपालिकाको कामकाज ठप्प भएको छ । साउन १ गतेदेखि म्याद नथप्ने निर्णयपछि स्वतः निस्कासनमा परेका ५९ कर्मचारीले मंगलबार विहानदेखि नगरपालिका गेटमै धर्ना बसेर प्रवेश रोक लगाएपछि कामकाज रोकिएको हो । 

 


नगरप्रमुखस्तरीय निर्णयको हवाला दिदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले असार ३१ गते एक सूचना प्रकाशित गरी ५९ करार कर्मचारीको म्याद नथपिएको जानकारी गराएका थिए । त्यसलगत्तै आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले अघिल्लो दिन ज्ञापनपत्र दिएर निर्णय पुनराबलोकन गर्न मेयर बस्नेतलाई आग्रह गरेका थिए । 


तर, माग सम्बोधन नभएको भन्दै निस्कासित कर्मचारीहरुले धर्ना सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि कार्यालय पस्न नपाएपछि कामकाज ठप्प भएको हो । मंगलबार कार्यालय समय सुरु हुनुअघि नै मुलगेटमा आएर धर्ना बसेपछि कार्यालय प्रमुखदेखि सहयोगीसम्म, मेयरदेखि सदस्यसम्म कार्यालय छिर्न नपाएका हुन् । 


असन्तुष्ट कर्मचारीहरुले आस्थाको आधारमा आग्रहपूर्वाग्रह राखेर आफुहरुलाई निस्कासन गरेको गुनासो गर्दै अघिल्लो दिन नै मेयर बस्नेतलाई निर्णय पुनराबलोकन गर्न माग गरेका थिए । करार भए पनि लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर सेवा प्रवेश गरेकाले निस्कासन गर्न पनि पूर्व जानकारी र स्पष्ट कारण हुनुपर्ने उनीहरुको गुनासो छ । मेयर बस्नेतलाई पूर्वाग्रही भएर गरेको निर्णय फिर्ता नलिएमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनीसहित उनीहरु धर्ना बसेको बताएका छन् ।

 


कर्मचारीको म्याद नथप्ने विषयमा मेयरले गम्भीर त्रुटी गरेको भन्दै कर्मचारी संघसंगठनले पनि आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरुले छुट्टाछटुटै र संयुक्त विज्ञप्ती प्रकाशित गरेर मेयर बस्नेतको उक्त कदमप्रति असहमति जनाएका छन् । बिभिन्न राजनीतिक दलनिकट कर्मचारी संघसंगठनहरु, निजामति कर्मचारीहरुको साझा छाता संस्था आधिकारीक ट्रेड युनियनले समेत  कर्मचारी निस्कासनको शैलीप्रति असहमति जनाएका हुन् । 


काँग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपा्रध्यक्ष तथा प्रदेश १ का अध्यक्ष मानबहादुर वन, आधिकारिक ट्रेड युनियन उदयपुृरका अध्यक्ष देवराज कोईराला, एमालेनिकट निजामति कर्मचारी संगठन अध्यक्ष पुन्यप्रसाद पौडेल, माओबादीनिकट राष्ट्रिय कर्मचारी संगठन (निजामति)का अध्यक्ष रीतकुमार राउत, एकीकृत समाजबादीनिकट एकीकृत निजामति कर्मचारी संगठन सचिव कृत रायमाझी र मधेस कर्मचारी मञ्चले विज्ञप्ती प्रकाशित गरी निस्कासनको शैलीप्रति बिरोध जनाउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 

 

कर्मचारी संघसंगठनको तर्फबाट सोमबार मात्र संयुक्त टोली गएर जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्मालाई पनि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा मेयरको मनोमानी शैलीप्रति असन्तुष्टि जनाउँदै आस्था र व्यक्तिगत सम्बन्धका आधारमा कर्मचारीमाथि गरिने व्यवहार सच्याउन माग गरिएको छ ।  


मेयर बस्नेतको कर्मचारी निस्कासनको शैलीप्रति स्वयं जनप्रतिनिधिहरु पनि असहमत छन् । १६ नं. वडाध्यक्ष मानबहादुर राईले कर्मचारी हटाउनुअघि नगर कार्यपालिकामा व्यापक छलफल हुनुपर्ने र बस्नुतगत कारण देखाएर मात्र कदम चाल्नुपर्नेमा मेयर बस्नेतले त्यसो नगरेको बताए । नगरपालिकाको व्ययभार घटाउने नाममा कर्मचारी हटाउनुअघि उनीहरुबाट भएको कमीकमजोरी पत्ता लगाएर सुध्रने अवसर दिनुपर्ने,  स्पष्ट कारण देखाउनुपर्ने र कार्यपालिका बैठकबाट पारित गरेर मात्र गर्नुपर्नेमा सोझै निस्कासन गर्नु गलत भएको राईले बताए । 


१४ नं. वडाध्यक्ष हिमराज मगरले पनि आस्थाका आधारमा र व्यक्तिगत सम्बन्धकै कारण कर्मचारी हटाउने वा राख्ने गर्नु गलत भएको बताएका छन् । क्षमता, योग्यता र नीति नियममार्फत कर्मचारी राख्ने या हटाउने हुनुपर्नेमा मेयर बस्नेतलले त्यस्तो केही मापदण्ड नबनाई अघिल्लो कार्यकालमा भर्ना भएकै आधारमा म्याद नथप्ने निर्णय गर्नाले यो समस्या आएको उनले बताए । 


नगर उपप्रमुख महेश्वरी राई पनि मेयर बस्नेतको कदमप्रति सन्तुष्ट नरहेको राईनिकट एक कर्मचारीले बताए । ठूलो संख्यामा कर्मचारी निस्कासन गर्नुअघि कार्यपालिका बैठकमा छलफल हुनुपर्ने, आफुसँग एकपटक सल्लाह लिनुपर्नेमा सोझै ‘एक्सन’ लिएको उनको गुनासो छ ।