त्रियुगाका ५९ करार कर्मचारीको जागीर चट

२0७९ श्रावण १ आईतवार
त्रियुगाका ५९ करार कर्मचारीको जागीर चट

उदयपुर

त्रियुगा नगरपालिकाले करार र ज्यालादारी ५९ कर्मचारीको ‘जागीर चट’ पारेको छ । चुनाव जितेको दुई महिना नपुग्दै नगरपालिकामा कायापलट गर्ने भन्दै नयाँ नगरप्रमुख बसन्तकुमार बस्नेतले करार कर्मचारीलाई ‘पाँडे पँजनी’ गरेका हुन् ।


आईतबार नगरपालिकाको सूचना पार्टीमा टाँसिएको सूचनामा करार र ज्यालादारी सेवामा रहेका २५ महिलासहति ५९ जना कर्मचारीको साउन १ गतेदेखि म्याद नथनिे व्यहोरा उल्लेख छ । असार ३१ गतेको मितिमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालद्वारा जारी सूचनामा ‘करार÷ज्यालादारी कर्मचारीको ०७९ साउन १ गतेबाट म्याद थप नहुने सम्बन्धमा’ भन्ने बेहोरा लेखिएको छ भने त्यसभन्दा मुनि म्याद नथपिने कर्मचारीहरुको नामावली उल्लेख छ ।


पँजनीमा पर्ने कर्मचारीहरुमा प्रशासनदेखि खेलकुदसम्मका १४ शाखामा कार्यरत अधिकृतस्तरदेखि कार्यालय सहयोगीसम्मका छन् । सबभन्दा बढी आयोजना–परियोजनासँग सम्बन्धित कर्मचारी पँजनीमा परेका छन् । त्यस्तै हलुका र भारी सवारी चालक, मनोपरामर्शकर्ता, सररफाईकर्मी, कानुन परामर्श विज्ञ, कृषि तथा पशु शाखा प्राविधिकदेखि कार्यालय सहयोगीहरुको जागीर चट पारिएको छ । 


दिनहुँ आवश्यक पर्ने सरसफाईकर्मी मात्र ७ जनाको म्याद नथपिने भएको छ । भूमि व्यवस्थापनतर्फ अभिलेख सहायक, पूर्वाधारतर्फका इन्जिनियर र सवइन्जिनियर, खेलकुदतर्फ प्रशिक्षक र कार्यालय सचिवदेखि सिमेन्ट निकासी कर संकलनसम्मले जागीरबाट हात धुनु परेको छ । परियोजनातर्फ महिला हिंसा कार्यक्रम संयोजक अञ्जु राई, सामी कार्यक्रम संयोजक जयन्तीकला तामाङ तथा प्रशासन तथा बित्त अधिकृत मनिता चौधरी, इन्जिनियर अनिल पुर्वे, न्यायिक समितिका कानुनी परामर्श विज्ञद्वय कृपाराम चौधरी र अनिल खड्का र यसअघि ११ नं. वडामा कार्यरत भई भर्खरै न्यायिक समितिमा छिरेका कम्प्युटर अप्रेटर सहायकस्तर पाँचौ महेश पौडेललाई पनि म्याद  नथपिने उल्लेख छ । 


नगरपालिकाल करार र ज्यालादारी कर्मचारीको संख्या झण्डै डेढसय बढी रहेको भए पनि सुरु चरणमा ५९ जना मात्र पँजनीमा परेका छन् । प्रशासन शाखाका कर्मचारी उमेश घिमिरेका अन्ुसार झण्डै सवा ३ सय कर्मचारी कार्यरत नगरपालिकामा सबै शाखा गरी झण्डै १ सय २० जना स्थायी र २० जना अस्थायीबाहेक बाँकी सबै करार र ज्यालादारी कर्मचारीले धानेको छ । 


स्थानीयतह पुनर्सरचनाभन्दा केही अघि र त्यसलगत्तै सञ्चालनमा आएका सामी,  बहुक्षेत्रीय पोषण, पञ्जिकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, ओसिएमसी, लघु उद्यमलगायत परियोजनामा कार्यरत कर्मचारी सबै करारका हुन् । ती सबैमा गरी २४ ज्यालादारी र बाँकी झण्डै १ सय २० हाराहारीमा कर्मचारी करार सेवामा रहेको घिमिरेले बताए ।


मेयर बस्नेतले नगरपालिकाको आमदानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको बताए । उनले हाललाई नगर प्रमुखस्तरीय निर्णय भए पनि छिट्टै कार्यपालिका बैठकमा लगेर अनुमोदन गर्ने बताएका छन् । अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेको मेयर बस्नेतले बताए । 

म्याद नथपिने कर्मचारीको बिबरण तल हेर्नुहोस्