२
२0७९ असार ३२ शनिबारउदयपुर
उदयपुरका ८ ओटा स्थानीयतहमा झण्डै ३० करोड बेरुजु निस्केको छ । महालेखा परीक्षण कार्यालयको आर्थिकवर्ष ०७७–७८ को लेखा परीक्षण प्रतिबेदन अनुसार सो बेरुजु देखिएको हो ।
मलेपले बिहीबार सार्वजनिक गरेको ‘५९ औँ प्रतिबेदन’ अनुसार जिल्लाका ८ वटा स्थानीयतहमा जम्मा २९ करोड ८२ लाख २० हजार बेरुजु देखाइएको छ । प्रतिवेदन अनुसार ८ तह रहेको उदयपुरका ४ नगरपालिकामध्ये सबैभन्दा बढी कटारीको बेरुजु ९ करोड ५५ लाख ५६ हजार रहेको छ भने सबभन्दा कम बेलकाको ३ करोड ४ लाख ७४ हजार देखाइएको छ । सदरमुकाम त्रियुगाको ६ करोड ८२ लाख ९९ हजार बेरुजु हुँदा चौदण्डीगढी नगरपालिकाको ३ करोड ९५ लाख १३ हजार रहेको छ ।
गाउँपालिकातर्फ सबभन्दा बढी लिमचुङबुङ गाउँपालिकाको बेरुजु २ करोड ८२ लाख ६० हजार रहेको छ भने सबभन्दा कम उदयपुरगढी गाउँपालिकाको ४५ लाख ८२ हजार देखिएको छ । रौतामाई गाउँपालिकाको १ करोड ४५ लाख ९९ हजार बेरुजु रहदा ताप्ली गाउँपालिकाको १ करोड ७० लाख ३७ हजार प्रतिबेदनले देखाएको छ ।
जिल्लाका ४ गाउँपालिकामध्ये भौगोलिक क्षेत्र र जनसंख्या धेरै भएर पनि बेरुजु रकममा उदयपुरगढी बिगत वर्षहरुदेखि नै कम देखिने गरेको छ । आकार र जनसंख्यामा जिल्लाकै सबभन्दा सानो भए पनि लिमचुङब्ुङको बेरुजु ठूलो देखिदै आएको छ । बिगत वर्षहरुमा पनि यो गाउँपालिकामा बेरुजु रकम अन्यत्रभन्दा धेरै देखिदै आएको छ ।
आर्थिक अनुशासनको उल्लंघन गर्नाले बेरुजु देखिने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) उदयपुरले जनाएको छ । तोकिएको शीर्षक अनुसार बजेटको सदुपयोग गर्न नसक्नु, योजनाहरुको समयमा कार्यान्वयन र फरफारक नगर्नु, दायित्वभन्दा बाहिर गएर खर्च गर्नु नै लेखा परीक्षण प्रतिबेदनमा बेरुजु देखिनु भएको कोलेनिकाले जनाएको छ