बोलेरो दुर्घटनामा १ को निधन, ८ घाईते

२0७९ असार ३0 बिहीबार
बोलेरो दुर्घटनामा १ को निधन, ८ घाईते

उदयपुर

हिजो राति बोलेरो जीप दुर्घटना हुँदा कटारीका एक युवाको ज्यान गएको छ । कटारीदेखि मयंखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी ४ स्थित सिद्धिचरण लोकमार्गमा दुर्घटना हुँदा कटारी १३ का १८ वर्षीय विष्णु राउतको निधन भएको हो । 


राति ७ः३० बजे आफै अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार सबै यात्रु घाईते भएका थिए । इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले घाईतेको उद्धार गरी कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचार गर्दागर्दै राति ८ः३० ब्ज्े राउतको निधन भएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार मृतकको शव धरानमै पोष्टमार्टम गर्ने प्रक्रिया अघि बढाइएको छ ।  


दुर्घटनामा परी घाईते हुनेहरुको धरानमै उपचार भईरहेको छ । प्रहरीका अनुसार घाईतेहरु कटारी नगरपालिका ८ का २० वर्षीय राज ठकुरी, वर्ष २२ का मनोज ठकुरी, वर्ष ५५ की उर्मिला ठकुरीको उपचार भईरहेको छ । कटारी ८ कै वर्ष ३५ का कृष्णबहादुर बुढाथोकी, कटारी ४ का  २२ वर्षीय दिपेश कोईराला, कटारी ११ का ५० वर्षीय ईन्द्रबहादुर मगर र कटारी ११ कै वर्ष १८ का दिबस बस्नेत तथा सुनसरी ईटहरी उपमहानगरपालिका १० का ५० वर्षीय निर्मल भुजेल पनि घाईते भएकाले त्यहीँ उपचार भईरहेका छ । 


घाईतेहरुको टाउको, खुट्टा, हात र शरीरका बिभिन्न भागमा घाउ चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्यमा सुधार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इन्सपेक्टर मोहन थापाले बताएका छन् । 


जीप चालक कटारी नगरपालिका १३ मैयंखुका २३ वर्षीय पोषराज खत्री र बोलेरो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटारी परिसरमा राखिएको र घट्नाबारे थप अनुसन्धान भईरहेको इप्रका कटारीका प्रमुख डिएसपी मानबहादुर राईले बताए् ।