संघीय निजामति ऐन तत्काल ल्याऊ

२0७९ असार २७ सोमबार
संघीय निजामति ऐन तत्काल ल्याऊ

उदयपुर

संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दै उदयपुरका कर्मचारी संघसंगठनले सोमाबर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । संघीयता जारी भएको यतिका वर्ष बिति सक्दासम्म ऐन जारी नगरेको भन्दै आन्दोलित निजामति कर्मचारी संघसंगठनले दबाबस्वरुप ज्ञापनपत्र बुझाएका हुन् । 


जिल्लामा कार्यरत बिभिन्न कर्मचारी संघसंगठनका प्रतिनिधिहरुको सामुहिक टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) वीरेन्द्रकुमार यादवमार्फत ज्ञापनपत्र बुझाउन निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन उदयपुृरका अध्यक्ष देवराज कोईरालासहित प्रशासन कार्यालय पुगेको थियो । 


ऐन जारी नगर्दा कर्मचारी व्यवस्थापनदेखि विकास निर्माणसम्मका कार्यमा नकारात्मक प्रभाव परेको भन्दै देशभरका कर्मचारीले आआफ्नो जिल्लामार्फत दबाब दिन सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष कोईरालाले बताए । उनका अनुसार टोलीमा नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन उदयपुृरकी अध्यक्ष भगवति खतिवडा, नेकपा (एमाले) निकट नेपाल निजामति कर्मचारी संगठन अध्यक्ष पुन्यप्रसाद पौडेल, नेकपा (माओबादी) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का अध्यक्ष रीतकुमार राउत र नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी कर्मचारी संगठनका सचिव कृत रायमाझी र  नेपाल मधेसी निजामति कर्मचारी मञ्चका कार्यवाहक अध्यक्ष मनोजकुमार झाको उपस्थिति थियो । 


संघीय निजामति ऐन जारी नहुँदा देशभर कर्मचारी समायोजनदेखि समग्र राष्ट्रको विकास निर्माणसम्म प्रभावित भएको तथा कर्मचारीको बृत्ति विकासमासमेत अवरोध खडा भएको भन्दै तत्काल ऐन जारी गर्नुपर्ने माग कर्मचारीहरुले राखेका छन् । 


ज्ञापनपत्र बुझ्दै सिडिओ यादवले प्राप्त मागपत्र तत्काल सम्बन्धित निकायमा पठाईहाल्ने आश्वासन दिए । निजामति कर्मचारीको माग पुरा गर्न सके जनताको सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएकाले त्यस अनुरुप आफुले कदम चाल्ने आश्वासन पनि सिडिओ यादवले दिएका थिए ।