पाठ्यपुस्तक अभावबिरुद्ध बिप्लब नेकपाको बिरोध प्रदर्शन

२0७९ असार २७ सोमबार
पाठ्यपुस्तक अभावबिरुद्ध बिप्लब नेकपाको बिरोध प्रदर्शन

उदयपुर

पाठ्यपुस्तक अभावबिरुद्ध नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले बिरोध प्रदर्शन गरेको छ । शैक्षिक वर्ष सुरु भएको ३ महिना नाघिसक्दासम्म पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै सरकारबिरुद्ध नेकपाले बिरोध प्रदर्शन गरेको हो । 


शनिबार र आईतबार साँझ पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आयोजनामा सदरमुकाम गाईघाटमा बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनको क्रममा विद्यार्थी सहूहले गाईघाट असारी लाईनबाट निस्केको मसाल जुलुसले बजार परिक्रमा गरेको थियो । 


‘मूल्य बृद्धि फिर्ता लेऊ, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराऊ, भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर’लगायत नारा लगाउँदै निस्केको नेता कार्यकर्तासहितको विद्यार्थी समूह गाईघाट बजार परिक्रमा गरी लोकतान्त्रिक चोक पुगेर बिसर्जन भएको थियो । 


समयमा पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीको शैक्षिक भविष्य अन्यौल भएकाले आफुहरुले बिरोध गरेको नेकपा उदयपुृरका सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । उनले कक्षा सुरु भएको ३ महिना बितिसक्दासम्म पाठ्यपुस्तक उपलब्ध नगराएर सरकारले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको बताए । 


‘वैशाखदेखि कक्षा सुरु भएको ३ महिना बितिसक्यो अझै किताव दिन सकेको छैन’ पौड्यालले भने ‘सरकारको यस्तो गैरजिम्मेबारी प्रबृत्तिबिरुद्ध हाम्रो पार्टीनिकट अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो । विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ ।’ 


आन्दोलनकारी अखिल क्रान्तिकारीका उदयपुृर अध्यक्ष देहज बिष्टले सरकारले बेलामा पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले सहज तरिकाले पठनपाठन गर्न नपाएको बताए । उनले राज्यको यस्तो गलत रबैयाबिरुद्ध अखिल क्रान्तिकारीले सँधै आवाज उठाउँदै आएको बताउँदै त्यसकै सिलसिलामा यसपटक पनि राज्यको ध्यानाकर्षण गराउन बिरोध प्रदर्शन गरेको बताए । सरकारले माग पुरा नगरे थप सशक्त आन्दोलन गर्न आफुहरु बाध्य हुने बिष्टले बताए ।