डुबानले गाईघाटका व्यापारीको बिचल्ली

२0७९ असार १८ शनिबार
डुबानले गाईघाटका व्यापारीको बिचल्ली

उदयपुर

विगतको दाँजोमा यसवर्ष खडेरी लाग्न नपाई वर्षा भईरहेको छ । दिन बिराएर भईरहेको वर्षा विगत ३ दिनयता यो वर्षकै सबभन्दा ठूलो दर्के पानी प¥यो । त्यसमध्ये शुक्रबार साँझदेखि पर्न थालेको पानी शनिबार विहानसम्म पर्दा गाईघाटका व्यापारीको बिल्लीबाट भएको छ ।


उसै पनि गाईघाट वर्षायाममा डुबानक्षेत्र नै हो । त्यसमाथि पहिले त्यति धेरै डुबान नहुने असारी लाईन यो वर्ष सबभन्दा बढी डुबानमा परेको छ । मदन भण्डारी लोकमार्ग बनेपछि होचो हुन पुगेको असारी लाईन सडक दायाबाँयाका घर पसलमा कम्मरसम्म पानी जम्न पुगेपछि व्यापारी व्यवसायीलाई करोडौंको घाटा लागेको छ । 


पीडि व्यापारीहरुका अनुसार मध्येराति घर पसल डुबानमा पर्दा खाद्यान्न, लत्ता कपडा, होटल, टेलर, हार्डवेयर सबै डुबानमा परेर धनमालको क्षति भएको छ । मुख्य चोकदेखि लाली गुराँस स्कुल हुँदै पूर्वतर्फको असारी लाईनमा मदन भण्डारी लोकमार्ग दायाँबायाँका पसलहरुमा पानी भरिन पुग्दा व्यापारी व्यवसायीलाई ठूलो क्षति भएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ । 


सो क्षेत्रका दर्जन बढी होटल, दुईदर्जन बढी खाद्यान्न, गुडिया पसल, कपडा र फेन्सी,  सब्जी पसलहरु डुबानमा परेर घाटा हुन पुगेको बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए । शुक्रबार साँझ ६ः०० बजेदेखि परेको मुसलधारे वर्षाले मध्यरातिदेखि घर जलमग्न हुदै घुँडाघुँडा हुँदै कम्मरसम्म पुगेपछि रातभर सुत्न नपाएको स्थानीय पेशल दाहालले बताए । भुईतला पानीले पुरै भरिएपछि माथिल्लो तलामा गएर बसेको उनले बताए । 


त्यसैगरी सोही लाईनका सीताराम घिमिरेको घरमा सटर भाडा लिएर व्यवसाय गर्दै आएकाहरुको लाखौंको क्षति भएको छ । गुडिया व्यवसायी एनुका राईको डुबानले झण्डै १५ लाख बराबरको क्षति गरेको छ । साँझ दोकान बन्द गरेर कोठा गएकी उनी विहान पसल खोल्न आउँदा घुँडाघुँडा डुबान हुादा लाखौंका गुडिया, गुडिया बनाउने कपडा, धागोलगायत कच्चा पदार्थ, अन्य सामग्री भिजेर कामै नलाग्ने अवस्थामा पुगेको छ । 


उनीसँगै अन्य सटर लिएर व्यापार गर्ने भाँडा व्यापारी, कम्प्युटर केन्द्र, जुत्ताचप्ल पसल फेन्सी सबैमा पानी भरिएर क्षति पुगेको छ । अगाडिको सटर मात्र भएको, पछाडि निकास जाने ठाउँ नभएकाले रातिदेखि विहानसम्म डुबानमा पर्दा भिजेका सामान कामै नलाग्ने भएर क्षति पुगेको पीडितहरुको भनाई छ । 


सोही लाईनमा मात्र २ अढाईसय हाराहारी व्यापारीलाई क्षति पुगेको खाद्य पसले सोनामसिंह दनुवारले बताए । उनको जस्तै दर्जन बढी खाद्यान्न पसलेको क्षति भएको छ । डुबानमा पर्दा बोराका बोरा चामल, दाल, नुन, मसला बसै काम नलाग्ने भएको छ । 

 

स्थानीयले असारी लाईनमा यसरी डुबान भएको चाहि पहिलो घट्ना भएको बताएका छन् । मदन भण्डारी सडक साविकभन्दा अग्लो बनेपछि असारीलाईनमा पानी पसेको स्थानीय गोविन्द खत्रीले बताए । उनले बितेको २५ वर्षमा पहिलोपटक यसरी घरमा पानी पस्नुको कारण मदन भण्डारी लोकमार्ग पहिलेको सडकभन्दा झण्डै डेढफिट अग्लो गरी बनाएकाले भएको बताए । 


लोकमार्ग बनेपछि पहिलेका निकासहरु सबै बन्द भएको र घरहरु होचो बन्न पुगेकाले डुबानको समस्या आएको खत्रीको बुझाई छ । वर्षायाममा पहिलेको निकास लोकमार्ग बनेपछि बन्द भएको र होचो क्षेत्र परेकाले यसरी डुबान भएको उनले बताए । 


उसो त वर्षाले असारी लाईन मात्र नभएर गाईघाट बजारको मुख्य चोकदेखि  डिएमगेट, हिमालय लाईन, बाबारानी मार्गक्षेत्रलगायत थुप्रै तिर डुबान हुने गरेको छ । खासगरी निकास जाने ठाउँ नराखी बनेका बाक्ला घरहरुले यस्तो समस्या वर्षेनी बढ्दै गएको त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत चामलिङ बताउँछन् राईका अनुसार बिना इन्जिनियरिङको टाउन प्लानिङ, निकास नराखी घर निर्माण र सडक संरचनामा ध्यान नपु¥याउँदा यस्तो समस्या आईपरेको हो । 


डुबानको समस्याबारे त्रियुगा नगरपालिकाले शनिबारै अनुगमन गरेको छ । मेयर बसन्त बस्नेत तथा उपमेयर महेश्वरी राईलगायत जनप्रतिनिधि र कर्मचारी समूहले बिभिन्न ठाउँको अनुगमन गरेको छ । टोलीले आगामी दिनमा यस्तो समस्या आउन नदिन नगरपालिकाले आवश्यक योजना बनाउने आश्वासन दिएको बताइएके छ ।