लगातार वर्षाले पहाडी भेगका सडक बन्द, तराईमा डुबान र कटान बढ्दै

२0७९ असार १५ बुधबार
लगातार वर्षाले पहाडी भेगका सडक बन्द, तराईमा डुबान र कटान बढ्दै

महेश्वर चामलिङ
उदयपुर

बेलमा बुद्धि नपुर्याउँदा उदयपुरको जनजीवन हरेक वर्षायाममा पीडा भोग्न बाध्य हुदै आउनु परेको छ । वर्षा हुन्छ र त्यसले बिपत् निम्त्याउँछ भन्ने थाहा हुँदाहुँदै जनप्रतिधिति र सरोकारवाला निकाय तथा व्यक्तिले समयमा त्यसबाट बच्न पूर्व तयारी नगर्दा सालबसाली जनताले दुःख पाउनु परेको हो । 


सोही अनुसार यसवर्ष पनि लगातारको वर्षाले जिल्लाबासीको जनजीवन प्रभावित बनाएको छ । केहीदिनयता १–२ दिन बिराएर वर्षा भईरहदा पहाडी सडकहरु अबरोध हुन थालेकोमा मंगलबार विहानदेखि लगातार ४८ घण्टासम्म पानी परेपछि जनजीवन निकै कष्टकर बन्न पुगेको हो । 


लगातारको वर्षाले सदरमुकाम त्रियुगासहित चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका बिभिन्न नदी खोला र खहरेहरु उर्लेर डुबान र कटान सुरु भएको छ । त्यस्तै पहाडी भेगका सडक भत्के, पुरिएका कारण यातायात सेवा अवरुद्ध हुन पुगेको छ । वर्षाका कारण त्रियुगा नदीमा पछिल्लो २४ घण्टायता बाढी ह्वात्तै बढेर डुबान र कटानको जोखिम बढेको छ । त्रियुगासँगै आसपासका बरुवा, लुहाले, ठाडी, बगाहा, सरस्वती, शाही, कङ खोलामा बाढी आउँदा किनार छेउछाउका बस्तीहरु डुबानमा परेका छन् । 


वर्षाले पहाडमा पहिरो र तराईमा बाढीले स्थानीयलाई समस्यामा पारेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सदरमुकामका केही ठाउँमा त्रियुगा र बरुवाले डुबान र कटानको समस्या निम्त्याएको बताए । बाढी पहिरोको बढ्दो जोखिम रोक्न जिल्ला बिपत् व्यवस्थापन समितिलाई सक्रिय बनाएर पूर्व तयारीमा लागेको यादवले बताए । 


उनका अनुसार अहिलेको वर्षाले कटारी नगरपालिका १० को तिल्केनी चौर पहिरोको जोखिमा परेको छ । जोखिमका परेका आधादर्जन घरधुरी गाउँलेलाई सुरक्षित स्थानमा बास राख्ने व्यवस्था मिलाउन कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीसँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको उनले बताए । 


कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले त्यहाँ रहेका १७ घरधुरीमध्ये ७ परिवार जोखिममा परेकाले उनीहरुको सुरक्षाका लागि नगरपालिकाले आवश्यक कदम चालेको बताएका छन् । लगातार वर्षापछि तिल्केनी चौरको बस्ती पहिरो जाने गरी चर्किएको पाइएपछि उनीहरुलाई सुरक्षित ठाउँमा आवश्यक जमिनको खोजी भईरहेको मेयर श्रेष्ठले बताएका छन् । त्यसका लागि नगरपालिकाले जिल्ला बिपत् व्यवस्थापन समिति र रेडक्रससँग मिलेर दीर्घकालीन उपायको खोजी गर्न थालेको उनको भनाई छ । 


वर्षाका कारण त्रियुगा र कटारीसँगै बेलका र चौदण्डीगढी नगरबासीलाई पनि व्यापक प्रभावित पारेको स्थानीयले जनाएका छन् । बेलकाका गिनेरी, सेती, काली, शिसुवा खोलाहरुमा उर्लेको बाढीले जनजीवन निकै प्रभावित पारेको स्थानीय ललित राईले बताए । उनका अनुसार दिनहुँजसो पर्ने पानीले ससाना खोला खहरेहरुमा बाढी उर्लेर धानको व्याड र भर्खर रोपेको धान रोपाँई बगाएर किसानलाई ठूलो क्षति पु¥याएको छ । 


स्थानीय खोला खहरेमा आउने बाढीले बेलका नगरपालिका २ र ३ मा पर्ने कोसी टप्पु, श्रृलङ्का टप्पु र बान्डाडा क्षेत्रका बासीन्दालाई कटान र डुबानको उच्च जोखिममा पारेको पीडित परिवारलाई उद्धृत गर्दै राईले बताए । बाढीले बेलकाका १, २, ३, ४, ५ र ८ नं. वडा बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकाका तल्लो भेगका वडाबासी सबैलाई बाढीले प्रभावित पारेको छ । वर्षाले २, ३ र ४ नं. वडाका तल्लो भेग, ५ नं. को सुन्दरपुर शिवाई क्षेत्र, ६ र ७ नं. बेलटार, ९ र १० नं. मा पर्ने हडियाक्षेत्रलाई पुरै तनावमा पारेको स्थानीयले बताएका छन् ।      उता पहाडी भेगमा सडक भत्कनुका साथै पहिरो जानाले यातायात अवरुद्ध हुन पुगेर जनजीवन प्रभावित भएको छ । 


मुर्कुची–भुट्टार, मुर्कुची–माझखर्क, रसुवा–चनौटे–बलम्ता, कटारी–बेतिनी–ताप्ली खण्डका सडकहरु सबै भत्केर यातायात आउजाउ ठप्प भएको छ । मुर्कुची–माझखर्क खण्डको सिन्कौलेमा झण्डै ३ सय मिटर सडकको ठाउँठाउँमा पहिरो जाँदा ४ दिनयता साना ठूला यातायात सवारी ठप्प हुन पुगेको छ । धेरै ठाउँमा हिलो जम्नुका साथै पहिरोले सडक पुरेकाले मोटरसाईकलसम्म चल्न नसक्ने अवस्था भएपछि सदरमुकामसँग लिमचुङबुङ गाउँपालिका र रौतामाईको सम्बन्धी बिच्छुद हुन पुृगेको छ । 


समयमै सडक मर्मत गरेर दीगो व्यवस्थापन गर्नुपर्ने विषयमा सम्बन्धित निकाय र व्यक्तिहरुले चासो नराख्दा वर्षेनी वर्षायाममा दुख पाउनुपर्ने सिलसिला कायम रहने गरेको स्थानीयको गुनासो छ । 

 

यसैबीच कटारी नगरप्रमुख बसन्त बस्नेर र उपप्रमुख महेश्री राईले बिभिन्न कटान र डुबान क्षेत्रको बुधबार दिउसो अनुगमन गरेका छन् । त्यस्तै बेलका नगरप्रमखु अशोक कार्की र उपप्रमुख जीरा राई तथा चौदण्डीगढी नगरप्रमुख कालु लामा र उपप्रमुख मणिका दुलालले पनि बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।