जिल्ला समन्वय समिति प्रमुखमा को ?

२0७९ असार ५ आईतवार
जिल्ला समन्वय समिति प्रमुखमा को ?

उदयपुर

आगामी ९ गते हुन गईरहेको जिल्ला समन्वय समितिको चुनावमा प्रमुख, उपप्रमुख  को हुने भन्ने यकिन भईसकेको छैन । वैशाख ३० गते सम्पन्न स्थनीयतह चुनावमा गठबन्धन गरेर देशव्यापी प्रतिस्पर्धामा उत्रिएका सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) मध्ये कसले प्रमुख र उपप्रमुख पाउने टुंगो लागि नसके पनि दावी भने काँग्रेस र माओबादीले गर्दै आएका छन् । 


नेपाली काँग्रेसले स्थानीयतह चुनावअघिदेखि प्रमुख बन्ने उदेश्यसहित ३ जना सदस्य चुनावमा प्रतिस्पर्धामा उत्रिए । त्रियुगा नगरपालिका १५ बाट कुलबहादुर खत्री, ११ बाट भिमचन्द्र राई र १० बाट बिनोद बस्नेत सदस्यमा लड्दै भावी समन्वय प्रमुखको यात्रा तय गर्न तम्सिएका थिए । उनीहरुमध्ये काँग्रेस जिल्ला उपसभापतिसमेत रहेका राई सदस्य निर्वाचित भएका छन् भने खत्री र बस्नेत पराजित भएका छन् । 


गठबन्धनकै अर्को घटक माओबादीका बिमल किराती नगर कार्यपालिका सदस्य जितेपछि समन्वय प्रमखुको दावेदार बन्न पुगेको पार्टीले जनाएको छ । स्थानीयतह चुनावमा गठबन्धन नगरी लडेर मेयरसहित बहुमत वडाध्यक्ष्ँ जितेको काँग्रेसले नगरसभामा स्पष्ट बहुमत प्राप्त गरेपछि माओबादीसँग गठबन्धन गर्न छाति खुल्ला  गरेन । त्यसको फाईदा उपमेयरसहित अल्पमत जितेको एमालेले लिँदै माओबादीसँगको गठबन्धन गरेर कार्यपालिकामा ८ मध्ये ४ सदस्य जित्न सफल भयो । 


कार्यपालिका सदस्य चयनमा एमालेसँग गठबन्धन गर्नु परे पनि जिल्ला समन्वय समिति चयनमा भने माओबादीले काँग्रेससँगै मिलेर अघि बढ्ने निर्णय गरेको छ । जस अनुसार सहमतिको पहल र्भइरहेको पार्टीले जनाएको छ । उता एमालेले आफुसँग गठबन्धन गरेर प्रमुख लिन माओबादीलाई आग्रह गर्ने क्रम जारी राखेको बताइएको छ । यस्तो अवस्थामा समन्वय प्रमुख कसको भागमा पर्ने भन्ने यकिन अनुमान लगाउन गाह्रो छ । 


समन्वय प्रमुख चयनको विषयमा गठबन्धन दलहरु निरन्तर छलफलमा रहेका छन् । स्थानीयतहमा देशव्यापी मेलमिलाप गरेको र आगामी मंसिरमा हुने प्रदेश तथा संघीय प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायम राख्ने दलहरु समन्वयमा पनि मिलेरै जानुपर्ने निश्कर्षमा रहेको नेपाली काँग्रेस उदयपुृरका सभापति हिमाल कार्कीले बताए । जस अनुसार आईतबार विहान पनि गठबन्धनको बैठक बसेको तर, काँग्रेस र माओबादी दुवैले प्रमुखमा दावी नछाडेपछि अन्तिम निर्णयको जिम्मा केन्द्रीय गठबन्धनलाई सुम्पने निर्णय भएको छ । केन्द्रीय गठबन्धनले कुन पार्टीलाई प्रमुख र उपप्रमुख तोक्ने हो सो निर्णय थाहा पाउन सोमबारसम्म कुर्नुपर्ने नेताहरुको भनाई छ । 


९ सदस्यीय समन्वय समितिमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य रहने व्यवस्था छ । 
जसमा एउटै दल भए प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधान छ । त्यस्तै दलित, महिला, आदिवासी जनजातिलाई समेटेर समावेशी समिति बनाउने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ । 


उदयपुरमा ४ नगर तथा ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहका १६ जना मतदाताले समन्वय प्रमुख, उपप्रमुख र सदस्य चयन गर्न पाउनेछन् । १६ मध्ये काँग्रेस ३ नगरप्रमुख र ४ उपाध्यक्ष गरी ७, एमाले १ नगरप्रमुख र ४ उपप्रमुख गरी ५, माओबादी ३ अध्यक्ष तथा एकीकृत समाजबादी १ अध्यक्ष मतदाता रहेका छन् । 


यता ९ गते चुनाव गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गर्न जेठ ३१ गते नै सूचना प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार ६ गते मतदाता नामावली प्रकाशन, छुट नाम समावेश, गल्ती सच्याउने, दावी बिरोध, दावी विरोधको छानविन र सोही दिन दिउँसो ४ः०० देखि ५ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै ७ गते उम्मेदवारी दर्ता,  उम्मेदवारको सूची प्रकाशन र दावी बिरोधको कार्यतालिका छ भने ८ गते दावी बिरोधउपर जाँचबुझ र निर्णय, उम्मेदवारको नामावली प्रकाशन, नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गरी सोही दिन साँझ ४ः०० देखि ५ः०० बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । ९ गते विहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म मतदान र  मतदानपछि गणना गरेर परिणाम घोषणा गर्ने कर्याक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताएका छन् ।