उदयपुरका १४ होटलको स्तरीकरण : कोहवरलाई २ तारे लोगो

२0७९ असार २ बिहीबार
उदयपुरका १४ होटलको स्तरीकरण : कोहवरलाई २ तारे लोगो

उदयपुर

उदयपुृर सदरमुृकामका १४ होटललाई गुणस्तर लोगो प्रदान गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले गाईघाट र बोक्सेका होटलहरुलाई बर्गीकरण गरी गुणस्तर प्रमाण दिएको हो ।


डिभिजनले नियमित गर्दै आएको अनुगमन अनुसार एउटा होटल अति उत्तम (दुईतारे) प्रमाणित भएको छ भने ८ वटा सन्तोषजनक (एक तारे) र ५ वटा सामान्य बर्गमा स्तरीकरण भएका छन् । बोक्सेस्थित होटल कोहबर उत्तम अर्थात २ तारे मा स्तरीकरण भएको छ भने भने बोक्सेकै होटल वल्र्डदरवारलगायत गाईघाट र मोतिवडाका ८ होटलले सन्तोषजनक स्तरको प्रमाणपत्र पाएको डिभिजन प्रमुख रमेश दाहालले बताए । 


उनका अनुसार अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी ४ बर्गमा होटलहरुलाई बर्गीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सप्तरीका प्रमुख सुरेशकुमार सिंह र सर्लाही डिभिजन प्रमुख जगतप्रकाश चौधरीसहितको टोलीले बर्गीकृत होटलहरुलाई स्तरीकरण लोगो बितरण गरेको थियो । 


उत्तम बर्गमा परेको कोहवरका सञ्चालक सागर थापामगरलाई डिभिजन प्रमुखत्रय दाहाल, सिंह र चौधरीले होटलमै पुगेर प्रमाणपत्र र लोगो बितरण गरे । सो अवसरमा सञ्चालक मगरले होटल सञ्चालन र उपभोक्ताको खाद्य अधिकारबारे ११ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । 


होटल वल्र्ड दरवार, मोतिगडाको होटल द इम्पाइर इन, गाईघाटका होटल हिमालय, होटल आरएन, ग्राभिटी, युनिक, टिप एण्ड फ्लिप बर्गर हाउस र डिएमगेटस्थित होटल टाउनहल सन्तोषजनक बर्गमा परेका छन् । गाईघाटका ड्रिमल्याण्ड, ए वान पार्टी प्यालेस, रोयल स्टार र थकाली भान्सा घर तथा डिएमगेटको गृन प्यालेस सामान्य बर्गमा स्तरीकरण भएका छन् । 


होटललाई उत्कृष्ट बर्गमा पार्नका लागि गुणस्तरीय खानेकुरा, भान्सा घर (किचन) सफा, ताजा र सफा खानेकुरा र औजार उपकरण तथा भाँडाकुँडाको सरसफाईमा ध्यान दिनुपर्ने मापदण्ड तय भएको दाहालले बताए । खानेकुरा मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले होटल सञ्चालकहरु त्यसप्रति पूर्ण जिम्मेबार हुनुपर्ने दाहालले बताए ।