खोटाङ जिल्ला समन्वयमा जसपा प्रमुख, माओबादी उपप्रमुख

२0७९ जेष्ठ ३0 सोमबार
खोटाङ जिल्ला समन्वयमा जसपा प्रमुख, माओबादी उपप्रमुख

उदयपुर

जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा जनता समाजबादी पार्टीका सनबहादुर राई चयन भएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उठेका उनी प्रमुख बन्दा नेकपा (माओबादी केन्द्र)का सुरेशकुमार तामाङ उपप्रमुख निर्वाचित भए । 


सोमबार भएको निर्वाचनमा गठबन्धनबाट उठेका उनीहरुले एमालेका किशोर श्रेष्ठ र सन्तोष राईलाई पराजित गरेका हुन् । राई र तामाङले प्रमुख र उपप्रमुखमा क्रमशः १६–१६ मत पाउँदा एमालेका श्रेष्ठ र राईले ४–४ मतमा चित्त बुझाउनु परेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 


सहायक निर्वाचन अधिकृत प्रतिभा राईका अनुसार १० स्थानीयतहका प्रमुख, उपप्रमुख गरी २० मत रहेको खोटाङ समन्वय समितिमा बाँकी ७ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनबाटै उम्मेदवारी दर्ता गराएका सदस्यहरुमा खुलातर्फ काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई र मोहन सुप्तीहाङ सदस्य चयन भए । 


त्यस्तै महिला सदस्यमा काँग्रेसकै कला राई र माओवादीकी विष्णुमाया राई तथा नेकपा (एकीकृत समाजवादी)की दिलकमारी राई छानिदा दलित सदस्यमा माओवादीकी चमेली विश्वकर्मा निर्वाचन भईन् । 


२०७४ को निर्वाचनमा १० मध्ये ५ वटा स्थानीयतहमा एमाले एक्लैले विजयी हासिल गरेको खोटाङमा सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित ५ प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष एमालेले जितेको थियो । यस पटक भने एमालेले खोटाङमा २ गाउँपालिका प्रमुख, २ उपप्रमुख तथा १९ वडाध्यक्ष मात्र जित्न सफल भएको छ । 


यस पटक एमालेले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्कमा प्रमुख र  रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ । यसवर्षको चुनावमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि एमाले खुम्चिन पुगेको हो । पहिलो निर्वाचनमा सबभन्दा ठूलो दल बनेको एमालेले यो चुनावमा क्षति बेहोर्नु परेको छ ।


२०७४ मा ४ प्रमुख, ३ उपप्रमुख र २७ वडाध्यक्ष जितेको काँग्रेसले यसपटक ६ प्रमुख, ४ उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । अघिल्लो चुनावमा हलेसी तुवाचुङ नगरपालिकामा मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष जित्न सफल भएको काँग्रेसले यसपटक दिक्तेल रुपाकोट मझुवागढीमा पनि मेयर जितेको छ । काँग्रेसले मझुवागढीमा गठबन्धनबाट मेयर जित्दा माओबादीले उपमेयर जितेको छ । त्यसैगरी काँग्रेसले केपिलासगढी, बाराहपोखरी, साकेला र रावावेंसी गाउँपालिका पनि प्रमुख जितेको छ भने ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको छ । 


२०७४ मा साकेला गाउँपालिका प्रमुख र १३ वडाध्यक्ष जितेको माओबादीले यसपटक खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपाध्यक्ष र २३ वडाध्यक्ष जित्न सफल भएको छ । 


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी (जसपा)ले खोटाङमा १/१ उपाध्यक्ष र २/२ वडाध्यक्ष जितेका छन् । गठबन्धनबाट चुनावमा भाग लिएका एसले बाराहपोखरी गाउँपालिकामा उपाध्यक्ष जित्दा जसपाले केपिलासगढीमा उपाध्यक्ष जितेको छ ।