उदयपुर सिमेन्ट उद्योग ३५ औँ वर्षमा, जनप्रतिनिधिलाई सम्मान गर्ने

२0७९ जेष्ठ २९ आईतवार
उदयपुर सिमेन्ट उद्योग ३५ औँ वर्षमा, जनप्रतिनिधिलाई सम्मान गर्ने

उदयपुर

गैंडाछाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लि. (उसिउलि) स्थापनाको ३४ वर्ष पुरा भएको छ । सोमबार ३४ वर्ष पार गर्ने उद्योगले सो अवसरमा ‘३४ औं साधारणभा’ र ‘३५ औं वार्षिकोत्सव’ छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने तयारी गरेको छ । 


उद्योगले स्थापनाकाल २०४४ देखि ०७८ सम्मको १४ वटा साधारणसभा गतवर्ष एकैचोटी गरेको थियो । अव भने उद्योगले हरेक वर्ष साधारणसभा गर्ने योजना अनुसाार कार्यक्रम तय गरेको जनाएको छ । उसिउलिका सूचना अधिकारी लक्ष्मण पोखरेलका अनुसार ३४ औँ साधारणसभामा उद्योगको वार्षिक प्रतिबेदनमार्फत वासलात र वर्षभरीको व्यवसायिक नाफा नोक्सान बिबरण प्रस्तुत गरिनेछ । 


नियमित लेखा परीक्षण गराउन लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव, उद्योगको प्रबन्धपत्र र नियमावलीमा आवश्यक्ता अनुसार समसामयिक संशोधन गर्ने विषयका प्रस्तावहरु पनि साधारणसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको पोखरेलले बताए । उद्योग शेयर सदस्यमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा महालेखा नियन्त्रण कार्यालय, उद्यो्ग विभाग र खानी विभाग रहेको उसिउलिले अन्य बिबिध विषयमा पनि साधारणसभामार्फत छलफल र निर्णय गर्ने जनाएको छ । 


सञ्चालक समिति अध्यक्षमा उद्योग मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल छिन् भने सदस्यमा उद्योग मन्त्रालयका उपसचिव विशाल सापकोटा, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख राजकुमार खतिवडा रहेका छन् । महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने सहसचिव रहने व्यवस्था छ । 


५ सञ्चालक सदस्य र २ विज्ञ सदस्य भने ३ वर्षे पदावधि सकेर विदाईको तयारीमा छन् । उनीहरुलाई साधारणसभाकै अवसरमा सम्मानसहित बिदाई गर्ने कार्यक्रम राखिएको छ । कार्यावधि पुरा भएका सदस्यहरु सम्झना पाख्रिन, पदम दाहाल, सुभाष राउत, महेशलाल यादव र कृष्णचन्द्र मण्डल तथा विज्ञ सदस्यद्वय देवीप्रसाद बराल र नरेश ढकाललाई सम्मान गर्दै बिदाई गर्ने पोखरेलले बताए । 


जेठ ३० गते साधारणसभा गर्ने उद्योगले ३१ गते ‘३५ औं वार्षिकोत्सव’ मनाउने भएको छ । सो अवसरमा उद्योगको कोईला गोदाममा नवनिर्मित ‘कोल मिल बेल्ट’को उदघाटन गरिनेछ छ । कच्चा पदार्थ कोईला राख्ने कोल यार्डबाट सोझै भट्टीसम्म कोईला लानका लागि कोल मिलमा बेल्ट जडान गरिएको जिएम न्यौपानेले बताए । उनका अनु्सार त्यसको उद्घाटन उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले गर्ने कार्यक्रम छ । 


पहिले टिफर, ट्याक्टर र ट्रलिबाट बोकेर मुख्य भट्टीसम्म लानुपर्ने समस्या बेल्ट जडान भएपछि अन्त्य भएको छ । मेकानिकल विभाग प्रमुख टीका कुँवर नेतृत्वको प्राविधिक टोलीले १५ लाख रुपैंयामा यो बेल्टर जडान गरेको हो । कोल मिल बेल्ट निर्माण भएसँगै वर्षेनी ३५ लाख रुपैंया उद्योगको बचत हुने कुँवरले बताए । 


उद्योगले नवनिर्वाचित त्रियुगाका नगरप्रमुख, उपप्रमखु र उद्योग परिसरसँग जोडिएका वडाध्यक्षलागयत जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन पनि गर्ने जनाएको छ । वार्षिकोत्सवको अवसरमा उद्योगमा बिभिन्न जातका १ हजार विरुवा रोप्ने कार्यक्रम जिएम न्यौपानेले बताए ।