त्रियुगा नगरकार्यपालिकामा माओबादी-एमाले विजयी 

२0७९ जेष्ठ २८ शनिबार
त्रियुगा नगरकार्यपालिकामा माओबादी-एमाले विजयी 

उदयपुर

त्रियुगा नगरकार्यपालिकाको सदस्यमा नेपाली काँग्रेसले धक्का खाएको छ । स्थानीयतह निर्वाचनमा गठबन्धन नगरी मेयरसहित बहुमत वडाध्यक्ष जितेको काँग्रेसले कार्यपालिका सदस्य चयनमा पनि एकल लड्ने अडानसहित गठबन्धन नगर्ने निर्णय गरेको थियो । 


गएको चुनावमा देशव्यापी रुपमा नेकपा (माओबादी केन्द्र)सँग गठबन्धन गरेको गरेको काँग्रेसले त्रियुगामा एक्लै लडेर बहुमत ल्याएको थियो । त्यही दम्भले कार्यपालिका सदस्य चयनमा उसले गठबन्धन नगरी चुनाव लड्दा धोका पाएको हो । गठबन्धन गर्न गरेको आग्रह नमान्दा कार्यपालिकामा काँग्रेस अल्पमतमा पर्न बाध्य भएको हो । शनिबार विहान १० देखि ४ बजेसम्म भएको मतदानको परिणाम अनुसार काँग्रेसले गोलाप्रथाबाट छनौट गर्दा १ सदस्य पाएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८२ सदस्यीय नगरसभामा मेयर, ९ वडाध्यक्ष तथा सदस्यसहित ४२ जनाको स्पष्ट बहुमत जितेको काँग्रेसले बहुमतको दम्भ देखाउँदै माओबादीसँग गठबन्धन गर्न मानेको थिएन । 

 

लामो छलफल चलाइए पनि बहुमतको आडमा गठबन्धन नगर्ने अडान लिएपछि सत्ता साझेदार दलमध्येको माओबादीले ८ मध्ये ४ जना सदस्यमा उम्मेदवारी दिएको थियो । उता काँग्रेस र माओबादीबीच विद्यमान गठबन्धन कुनै हालतमा तोड्न अनेक प्रपञ्च रच्दै आएको नेकपा (एमाले) काँग्रेस र माओबादीबीचको यो अवस्थालाई भरपुर उपयोग गर्ने पक्षमा थियो । यही त्रक्रममा काँग्रेस गठबन्धन गर्न नमानेपछि माओबादीलेजस्तै एमालेले पनि ४ सदस्यमा मनोनयन गरेको थियो ।

 

काँग्रेसका मेयर, एमालेबाट उपमेयर र १६ वडाध्यक्षमा ९ काँग्रेस, ४ एमाले र ३ माओबादीले जितेको त्रियुगामा ६४ सदस्यसहित ८२ सदस्यीय नगरसभामा काँग्रेसको स्पष्ट बहुमत ४२ सदस्य थिए । आफुले स्पष्ट बहुमत जितेकै कारण ८ कार्यपालिका सदस्य छनौटमा काँग्रेस एक्लै जित्ने योजनाका साथ अघि बढेको थियो । स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार नगरपालिकामा विजयी सदस्यमध्येबाट ५ महिला तथा अल्पसंख्यक, दलित तथा महिलाबाट १÷१ गरी ३ सदस्य गरी ८ जना कार्यपालिका सदस्य चयन गर्नुपर्ने व्यवस्था छ । जस अनुसार काँग्रेसले ८ जनाका लागि एक्लैले मनोनयन दर्ता गराएको थियो ।    

 

स्थानीयतह निर्वाचनमा पनि गठबन्धन नभएको काँग्रेससँग कुरा नमिलेपछि माओबादीले एक्लै ४ सदस्यका लागि मनोनयन दर्ता गरेको थियो भने एक्लै पराजयको शिकार भएको एमालेले माओबादीसँग अघोषित तालमेल गर्ने भन्दै ४ सदस्यमा मात्र उम्मेदवाराी दिएको थियो । उता काँग्रेसले भने बहुमतको दम्भमा ८ जनै सदस्यको उम्मेदवारी दिएको थियो ।

 

अल्पसंख्यक, दलित र महिलामा निर्वाचितभन्दा बाहिरबाट पठाउनुपर्ने ३ जनामा नियमानुसार काँग्रेसले गुणराज दनुवार, बलदेव विश्वकर्मा र बालोप्रसाद भगतलाई पठाएको थियो भने निर्वाचित सदस्यमध्येबाट पठाउनुपर्ने ५ महिलातर्फ अनिता थापा, गोमाकुमारी राउत, भलमाया मगर, बिमला राई र मीरा विश्वकर्मालाई उठाएको थियो ।

 

यता माओबादीले उठाएको ४ सदस्यमा अल्पसंख्यकतर्फ बिमल किराती, दलिततर्फ प्रल्हाद विश्वकर्मा र निर्वाचितबाट रेखा थापामगर तथा कुन्ति परियारलाई उठाएको थियो । एमालेले भने डिल्लीसेर राईलाई अल्पसंख्यकमा, रेनुका श्रेष्ठ र रेनुका श्रेष्ठ र गीताकुमारी उप्रेतीलाई र दलिततर्फ सुनिता गजमेरलाई उठाएको छ ।

 

 उम्मेदवारी दिनेहरु कसैले नाम फिर्ता नलिएपछि २८ गते शुक्रबार सबै सदस्यका लागि चुनाव भएको थियो । जसमा एमालेका ४ जनै उम्मेदवार कार्यपालिका सदस्यमा विजयी भएका छन् भने माओबादीका ३ जना चयन भएका छन् । काँग्रेसले दिएको ८ उम्मेदवारमध्ये बलदेव विश्वकर्मा र माओबादीका प्रल्हाद विश्वकर्माले बराबर मत पाएपछि गोलाप्रथाबाट चिठ्ठा तान्दा बलदेवको भागयमा कार्यपालिका सदस्य परेको छ ।

 

कार्यपािलका सदस्यको चयनसँगै त्रियुगामा बोर्डमा काँगे्रसका मेयर, ९ वडाधध्यक्ष र १ कार्यपालिका सदस्यसहित ११ जना छन् भने एमालेबाट १ उपमेयर, ४ वडाध्यक्ष र ४ कार्यपालिकासहित ९ जना छन् । उता माओबादीले ३ वडाध्यक्ष र ३ कार्यपालिका सदस्यसहित ७ जना पुगेको जनाएको छ ।