पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लेऊ: नेकपा (बहुमत)

२0७९ जेष्ठ २७ शुक्रबार
पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लेऊ: नेकपा (बहुमत)

उदयपुर

नेपाल आयल निगमले भर्खरै गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नयाँ पार्टी नेकपा (बहुमत)ले आन्दोलन गर्ने भएको छ । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले नयाँ मूल्यबृद्धि फिर्ता लिन माग गर्दै साताव्यापी आन्दोलनको घोषणा गरेको हो । 


नवगठित जिल्ला समिति उदयपुरले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै बिहीबार राति १२ः०० बजेदेखि लागू हुने गरी भएको मूल्यबृद्धिविरुद्ध आउँदो असार २ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बृद्धि भएको पेट्रोलियम पदार्थको नयाँ मूल्य तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेको पार्टी जिल्ला समिति संयोजक गौरबहादुर देवकोटा (जटिल)द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 


विज्ञप्तीमा वैशाख ३० गते सम्पन्न स्थनीयतह चुनावपछिका २७ दिनमा मात्र ३ पटक मूल्य बढाइएको र पेट्रोलको मात्र प्रति लिटर १८ रुपैँया मूल्य बृद्धि गरेको पार्टीले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि तेलको अन्तराष्ट्रिय मूल्य अनुसार गरिएको कुतर्क सरकारले पेश गर्ने गरेको भन्दै विज्ञप्तीमा बिभिन्न कर, ढुवानी, निगमको प्रशासनिक खर्च, बिमा, प्राविधिक नोक्शानी, बिक्रेता कमिशनलगायतमा राज्यले भार थप्ने गरेको जनाइएको छ । 


पेट्रोलमा मात्र प्रतिलिटर ६१ रुपँैया २३ पैसा र डिजलमा ४३ रुपैँया ९१ पैसा अतिरिक्त मूल्य राखेर महँगी बढाइएको भन्दै यसले जनतालाई लुट्ने काम भईरहेको आरोप पार्टीले लगाएको छ । अनेक बहाना गरेर दलाल संसदीय व्यवस्थाको सरकारले नेपाली जनताको ढाड सेक्ने काम गरेको भन्दै विज्ञप्तीमा यसले अन्य उपभोग्य सामग्रीको पनि मूल्य बृद्धि भएर महँगी आकाशिएको जनाएको छ । 


पार्टीले आफ्ना माग पुरा गराउन शुक्रबारदेखि लागू हुने गरी ७ दिने आन्दोलनको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ । जस अनुसार २७ गते शुक्रबार ज्ञापनपत्र बुझाउने, २९ गते देशभरका आयल निगममा धर्ना दिने, ३० गते प्रधानमन्त्री कार्यालय र सबै प्रदेश मुख्यमन्त्रीलाई धर्ना दिने, ३१ गते सिंहदरवार र सबै स्थानीयतह धर्ना, १ गते देशव्यापी मशाल जुलुस र २ गते देशभर विहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने कार्यक्रम पार्टीले तय गरेको छ । 


पार्टी जिल्ला संयोजक जटिलका अनुसार घोषित कार्यक्रम बमोजिम शुक्रबार ज्ञापनपत्र बुझाएको र बाँकी कार्यक्रम तालिका अनुसार सञ्चालन हुने छ । बिप्लब नेतृत्वको नेकपा दलाल संसदीय व्यवस्थामा फसिसकेकाले क्रान्तिकारी सोँच र विचार भएका कार्यकर्ताहरु नेकपा (बहुमत) मा समाहित भएको उनले बताए । क्रान्तिलाई निरन्तरता दिनका लागि उदयपुरको २१ सदस्यीय जिल्ला कमिटीमा ७ जनाबाहेक बाँकी सबै नयाँ पार्टीमा धु्रविकृत भएको उनले बताए ।