वर्षेनी भोग्नुपर्ने बाढी पहिरोको कहर फेरि सुरु 

२0७९ जेष्ठ २६ बिहीबार
वर्षेनी भोग्नुपर्ने बाढी पहिरोको कहर फेरि सुरु 

उदयपुर

उदयपुरबासीलाई वर्षेनी भोग्दै आउनु परेको बाढी पहिरोको चपेटा यसवर्ष पनि सुरु भएको छ । वर्षा सुरु भएसँगै पहाडी भेगका सडकहरु भत्के बिग्रेर यातायात आउजाउमा अवरोध खडा हुन थालेको छ भने तराई र समथर भेगमा खोला बाढीले सताउन थालेको छ ।


केहीदिनअघिसम्म ग्राबेलस्तरका पहाडी सडकहरु अहिले बीच बीचमै भ्वाङ परेर, कटानले भत्किएर र पुरिएर खाल्डाखुल्डी भएका छन् । सदरमुकाम गाईघाटदेखि भुट्टार जोड्ने मुर्कुची पुँवारे भुटुटार खण्डको सडक केहीदिनअघिको वर्षाले जिण्र्या बनाईदिएको छ । उता गाईघाटदेखि साउने, रानीबास हुँदै डहरसम्म कालोपत्रे भए पनि डहरदेखि रौता हुँदै भुट्टारसम्मको अर्को कच्ची सडक पनि सबै ध्वस्त बनाईदिएको छ । 


मुर्कुची पुवारे, माझखर्क बाराहा खण्डको सडक पनि वर्षाले भत्काउने बिगार्ने गरेर आवागमनमा समस्या खडा गरेको छ । त्यस्तै बाराहा बलम्ता, भुट्टार लाफागाउँ जाँते खण्डको सडक, फोक्सिन्टार रसुवा चनौटे, बलम्ता खण्ड त्यस्तै बिग्रेर सवारी आवागमनमा अप्ठेरो बनाईदिएको यातायात व्यवसायीहरु बताउँछन् । केहीदिनयता परेको सामान्य वर्षाले नै पहाडी भेगका कच्ची सडकहरु पुरै भत्काईदिएपछि यातायात आउजाउमा समस्या आएको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले जनाएको छ । 


यता तराईतर्फ पनि खोला नदीमा बाढी आएर डुवान र कटान समस्या बढ्न थालेको छ । गाईघाट आसपास त्रियुगा, लुहाले, हडिया, ठाडी खोला, शाही, सरस्वति, बगाहा र कङ खोलाहरु सामान्य वर्षामै उर्लने भएकाले कटानको समस्या बढेको स्थानीयहरु बताउँछन् । 


केहीदिनअघि मात्र चौदण्डीगढी ९ स्थित हडिया खोलाले एउटा यात्रुबाहक सुमो जीप बगाएर झण्डै दुर्घटना भएको थियो । एक नाबालकसहित ४ जना सवार जीप खोलामा भासिएकै बेला एक्कासी आएको बाढीले झण्डै १ सय मिटर तल पुर्याईसक्दा स्थानीयबासी र प्रहरीले तत्काल थाहा पाएर उद्धार गरेकाले अप्रिय घट्ना भने हुन पाएन । 


नगरपालिका र गाउँपालिको चुनाव भर्खरै सम्पन्न भएकाले जनप्रतिनिधिहरु कार्यभारा सम्हाल्न नपाई दैवी बिपत्ती आईलागिसकेको अवस्था छ । वर्षायाम भित्रि सकेको अवस्थामा भविष्यप्रति उति चासो नराख्ने हामी नेपालीको बानीले पूर्व तयारीको अभावको शिकार यस वर्ष पनि विगतमाजस्तै बेहोर्नुपर्ने टडकारो अवस्था देखा परिसकेको छ । यसबारे जिल्ला बिपत व्यवस्थापन समितिले जनप्रतिनिधि र सरोकारवालाहरुसँग मिलेर बेलैमा सचेत हुँदै आवश्यक योजना तर्जुमा गरेर अघि बढ्नुपर्ने खाँचो छ ।